Breaking News
गैरकानूनी रुपमा ग्रीस प्रवेश गर्ने ७ आप्रवासीको दुर्घटनामा मृत्यु, २ नेपाली घाइते
काठमाडौँ, मंसिर ६-
टर्कीबाट गैरकानुनी रुपमा ग्रीस प्रवेश गर्ने क्रममा सातजना आप्रवासीको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउने सात जनामा एक महिला रहेको र उनीहरुका हालसम्म सनाखत हुन सकेको छैन ।
१५ जना आप्रवासी बोकेको गाडी प्रहरीको अवरोधबाट बच्न खोज्दा नियन्त्रण गुमाएर दुर्घटनामा परेको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनामा घाइते हुनेमा चार जना पाकिस्तानी, दुई जना नेपाली र एक जना अफगानी छन् ।
त्यस्तै एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वल कुमार घिसिङले दुर्घटनामा परेका नेपालीहरुको यथार्थबारे जति सक्दो छिटो बाहिर ल्याउने बताएका छन् । ‘हामीले पनि समाचारबाट नै सुनेका छौं, तर अहिलेसम्म कुन एजेण्टले पठाएका नेपालीहरु हुन् ? को-को परेका छन् भन्नेबारे संघलाई कुनै पनि जानकारी छैन,’ अध्यक्ष घिसिङले भने ।
उनले अघि भने, ‘टर्कीबाट अवैध रुपमा ग्रीस प्रवेश गर्ने नेपालीहरुको संख्या दिनदिनै बढ्दै छ । समाचारमा उल्लेख भएको घटनाको प्रकृति हेर्दा नेपालीहरु पर्न सक्ने स्वभाविक नै हो ।’ टर्कीदेखि ग्रीस अवैधानिक रुपमा जाँदा विना पासपोर्ट वा डकुमेन्ट हिड्ने हुँदा मृतकहरुको सनाखत हुन पनि समय लाग्ने उनले बताए ।



























