चितवन विशेष
पातलीमायाले कुबेतमा कमाएको रकमसहित श्रीमान् अर्कै महिलासँग बेपत्ता

चितवन,मंसिर ४-
वैदेशिक रोजगारीमा कुवेत गएकी ३७ वर्षीय पातलीमाया चितवन फर्किएसँगै समस्यामा पर्नुभएको छ । विसं २०७३ सालमा पहिलोपटक दुई वर्ष कुवेत गएर नेपाल फर्किनुभएकी पातलीमाया वाइबा नेपाल फर्किदा नत घरमा श्रीमान् भेटिए नत आफूले कमाएको पैसा नै देख्न पाउनुभयो ।
उहाँ झनै झनै समस्यामा पर्दै जानुभयो । उहाँले भन्नुभयो, ‘मैले कुवेतमा पाँच लाख रुपैयाँ कमाएर पठाएको थिएँ । बुढाले सबै पैसा हिनामिना गरे । घरमा आउँदा छिमेकी नेवार थरकी महिला लिएर भागेछन् । छोराछोरी अलपत्र परेछन् । घर पूरै हिनामिना भएछ ।’ पातलीमाया फेरि विदेश फर्किनु नै पर्ने बाध्यता प¥यो तीन महिना बसेर विदेश फर्किएपछि झण्डै दुई वर्षमा गत असोज २३ गते नेपाल फर्किनुभयो । घरलाई केही व्यवस्थित गरेर विदेश जानुभएकी उहाँ घरको चिन्ताले सन्तोषको श्वास फेर्न पाउनुभएन ।
पातलीमायाको स्थायी ठेगना भरतपुर महानगरपालिका–१६ लालचोक हो । उहाँको दुई छोरा र दुई छोरी छन् । सामान्य फर्निचर पसल गरेर बसेका उनीहरु घरलाई अझ बढी व्यवस्थित गर्ने आशमा पातलीमायालाई वैदेशिक रोजगारीमा पठाउने निधो गरे । पातलीमायालाई श्रीमान् लालध्वज वाइवाले विदेश पठाउनको लागि पासपोर्टलगायत सबै कागजपत्र बनाइदिए । सबै कागजपत्र बनाएपछि भारतको दिल्लीसम्म पुगेर उनलाई कुबेत उडाएर नेपाल फर्किएका थिए ।
सर्लाहीमा माइती भएकी पातली मायाले १३ वर्षको उमेरमा नै परिवारको स्वीकृति बिनानै लालध्वजसँग प्रेम विवाह गर्नुभएको थियो । श्रीमान् नागरिकतासहित बेपत्ता हुँदा अहिले विवाह दर्तासम्म गर्न पाउनुभएको छैन भने घरघडेरी पनि आफ्नो नाममा दर्ता गर्न पाउनु भएको छैन । उहाँ अहिले पारीवारिक र सामाजिकरुपमा समस्यामा पर्नुभएको छ । उहाँले भन्नुभयो, ‘श्रीमान् आएर सुकुमबासीको रुपमा पाएको ६ धुर घडेरी मेरो वा छोराहरुको नाममा गरिदिए हुने । प्रहरीमा उजुरी दिँदा पनि विदेशमा भएकोले उजुरी गर्न ढिला भयो । प्रहरीले कुनै रेस्पोन्स गरेन । अर्काे महिलासँग विवाह गरेर भागेको पनि खासै केही प्रमाण जुटाउन सकिन । श्रीमान्लाई खोज्न जाउँ कता जाउँ झनै अन्योलमा परेको छु । श्रीमान्ले पटकपटक फोनको सिम परिवर्तन गर्दा खासै राम्रोसँग अहिले सञ्चार सम्पर्क पनि गर्न भएको छैन ।’
पातलीमायाले श्रीमान् लालध्वजलाई फोन गरेर घडेरी पास गरिदिन अनुरोध गर्दा नटेरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवन आएर घडेरी पास गर्देऊ भन्दा दुवै श्रीमतीसँगै मिलेर बस्ने भएमात्र आउँछु भन्छन् । मैले विदेशमा कमाएको पैसा पनि हिनामिना भयो । जताततैबाट समस्यामा परेको छु ।’ भरतपुर महानगरपालिका–१६, लालचोक नै बस्ने भुवन परियारलाई पनि त्यस्तै समस्या छ । तीन वर्षको छोरा लिएर आफन्तको घरमा काठमाडौँ गएकी २१ वर्षीय श्रीमती संगीता परियार काठमाडौँमा नै बेपत्ता हुँदा भुवनलाई छोरा हुर्काउने समस्या परेको छ । कात्तिक १ गते काठमाडौँ गएकी संगीताले कात्तिक ८ गते छोरालाई गाडी चढाएर कसैसँग चितवन पठाइदिइन् ।
भुवनले भन्नुभयो, ‘घरमा बुबाआमा कोही हुनुहुन्न । दुई दिदी र एक बहिनीको विवाह भइसकेको छ । बच्चा हेर्ने मानिस नहुँदा समस्यामा परेको छु ।’ तनहुँको डुम्रेका स्थायी बासिन्दा उहाँ श्रीमती संगीता फर्कने आशमा पर्खिरहेका छन् । अहिले भुवन र पातलीमायाले भोगेका समस्या प्रतिनिधि घटनाहरु मात्र हुन् । समाजमा बढ्दो पारीवारिक विखण्डनले धेरैलाई समस्यामा पारेको छ भने बालबालिका पनि टुहुरो बन्दै छन् ।


























