चितवन विशेष
सौराहामा नेपाल–भारत साहित्य उत्सव सुरु

चितवन, कात्तिक २७–
चितवनको पर्यटकीय नगरी सौराहामा शनिबारदेखि नेपाल–भारत साहित्य उत्सव सुरु भएको छ ।
कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा आइतबारसम्म चल्ने उत्सव सुरु भएको हो । उत्सवमा भारत र नेपालका गरी करिब १०० साहित्यकार सहभागी छन् । भारतको मणिपुर, आसाम, सिक्किम, दार्जिलिङ, डुवर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट ३० जना साहित्यकार सहभागि भएको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिनुभयो ।
उत्सवको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले समुद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै उहाँले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन डिजिटल माध्यमबाट पुस्तक खरिदको व्यवस्था मिलाउन लागिएको बताउनुभयो । नेपाली पुस्तक विदेशसम्म पु¥याउन कानुनी अड्चन रहेको भन्दै अब डिजिटल माध्यमको प्रयोगको सुरुवात गर्न लागिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा छ कार्यपत्र प्रस्तुत हुनेछ । भारतीय सहभागी साहित्यकार सबै नेपाली मूलका छन् । कार्यपत्र प्रस्तोता नेपाल र भारतका तीन तीन जना रहेका छन् । अध्यक्ष क्षेत्रीका अनुसार भारतका गोमा अधिकारी, डा नवीन पौडेल, डा टिबी क्षेत्री तथा नेपालका डा केशव चालिसे, डा अशोक थापा र लिला लुइँटेलले कार्यपत्र प्रस्तुत गर्ने छन् ।
कार्यपत्रमा नेपाली साहित्यलाई विश्व बजारमा कसरी चिनाउने, विदेशमा रहेका नेपालीले यहाँको साहित्य प्रवद्र्धनमा गरेको योगदान, नेपाली साहित्यको अवस्थालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । तीनै विषयमा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा गरिँदै छ । सबै सहभागीबाट रचना वाचनको कार्यक्रम पनि छ ।
























