Breaking News

एमाले महाधिवेशनः चितवनको प्रतीक झल्काउने गैँडाले पार्टीको झण्डा बोकेको लोगो

Banner

चितवन,कात्तिक २७-

‘राइनो इज नट राइनो, राइनो इज गैँडा, त्यसैले सबैले राइनो होइन, गैँडा मात्र भन्नुपर्छ,’ २०७६ भदौ २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा भएको एक कार्यक्रममा भनेका थिए। उनले अंग्रेजीमा बोलाइने राइनोलाई गैँडा भन्नैपर्ने बताएको ठीक २७ महिनापछि एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको लोगोमा गैँडा नै प्रयोग गरिएको छ।

तर यतिबेला ओली सत्तामा छैनन्। तर, सत्तामा नहुँदा पनि राइनोलाई गैँडा स्थापित गराउन लागेको जस्तो देखिन्छ। मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनका लागि बिहीबार सार्वजनिक लोगोमा जुरुक्क उभिएको गैँडाले कम्युनिष्ट झण्डा उचालेको देखाइएको छ। जसको एकातिर एमालेको चुनाव चिन्ह सूर्य पनि छ।

नेपालमा एक सिङे गैँडा दुर्लभ र संरक्षित जनावरमा सूचीकृत छ। त्यही दुर्लभ जनावरले कम्युनिष्ट पार्टीको झण्डा उचालेको लोगो राखेर एमालेले आफूलाई के देखाउन खोजेको हो ? यसको उत्तर हामीले एमाले नेताहरुबाटै खोज्ने कोसिस गरेका छौँ। पार्टी विभाजनको तीन महिनामै हुन लागेको महाधिवेशनबाट एमालेले के कस्ता निर्णय गर्ला ? एमालेकै कार्यकर्तादेखि आममानिसमा पनि चासो बढ्दो छ। महाधिवेशन सुरु हुनु १४ दिनअघि सार्वजनिक भएको लोगोले धेरैको ध्यान खिचेको छ। यो लोगो हेरेर केहीले गैँडाको ब्रान्डिङ गर्न खोजेको भनेका छन्। तर केहीले भने कम्युनिष्ट पार्टीको झण्डा मजदुरले फहराएको देखाउनुपर्नेमा गैँडालाई देखाएर एमालेले मजाक गर्न खोजेको भन्दै व्यंग्य पनि गरेका छन्।

नवौँ महाधिवेशनमा पार्टीको चुनाव चिन्हलाई अंग्रेजी नौ आकारमा लोगोमा ढालेको एमालेले दशौँ महाधिवेशनमा आइपुग्दा पहिलोपटक जनावरको आकृति प्रयोग गरेको हो। महाधिवेशनका लागि सार्वजनिक गैँडासहितको अर्थ के हो त ? एमाले महासचिव ईश्वर पोखरेलले लोगोको दुईवटा अर्थ रहेको बताएका छन्। पहिलोः महाधिवेशन हुने स्थान (चितवन) को प्रतीक।

दोस्रोः प्राकृतिक विनाशबाट लोप हुने खतरामा रहेको जनावरको सुरक्षाप्रति ध्यानाकर्षण गराउने प्रयास। एमालेको दशौँ महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनको नारायणी किनार र पर्यटकीय नगरी सौराहामा हुँदैछ। चितवनको एउटा मुख्य परिचय भनेकै गैँडासँग जोडिएर आउँछ। गैँडा हेर्नैका लागि नेपालीदेखि विश्वका कयौँ मुलुकदेखि बर्षेनी हजारौँ पर्यटक आइपुग्छन्।

विदेशबाट काठमाडौं आउने पर्यटकको मुख्य गन्तव्यमध्ये एक हो राप्ती किनारमा रहेको सौराहा। जहाँ नजिकैबाट गैँडादेखि गोहीसम्म टहलिरहेको सजिलै हेर्न पाइन्छ। चितवनमै महाधिवेशन हुने भएपछि त्यहाँको परिचय बनिसकेको गैँडालाई अझै ब्रान्डिङ गर्ने गरी लोगो बनाइएको महासचिव पोखरेलले बताए। गैँडासहितको लोगोको कन्सेप्ट महासचिव पोखरेलसहित प्रचार विभागका समेत नेताहरु बसेर बनाएका हुन्।

आफूहरुले दिएको कन्सेप्टलाई डिजाइनरले स्वरुप दिएको पोखरेलले बताएका छन्। ‘हाम्रो महाधिवेशन चितवनमा गर्ने निर्णय भएपछि मसहितका प्रचार विभागका पनि साथीहरुले छलफल गर्‍यौं, उनले भने, त्यहाँको प्रतीकका रुपमा रहेको गैँडा नै महाधिवेशनको लोगोमा राख्ने योजना बनायौं। डिजाइनरले त्यसलाई फिनिसिङ दिनुभयो।’

महाधिवेशनको लोगो ललितपुरको च्यासलमा एक कार्यक्रमबीच बिहीबार पोखरेल आफैँले सार्वजनिक गरेका छन्। गैँडाको आकृतिसहितको लोगो बनाउनुको अर्को कारण नेपालमा यी दुर्लभ जनावर विस्तारै घट्दैछन्। यसको सुरक्षामा सबैलाई ध्यानाकर्षण गराउन पनि खोजिएको छ लोगोमार्फत। ‘प्रकृतिको सुन्दर जनावर गैँडाको संख्या दैनिक घट्दै हुँदै गइरहेको छ, पोखरेलले भने, हामीले महाधिवेशनमार्फत यसको सुरक्षाका लागि ध्यानाकर्षण गराएका हौँ।

असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा एमालेले आधा मात्रै उदाउँदै गरेको सूर्यलाई लोगोका रुपमा प्रयोग गरेको थियो। तर त्यसबेला उक्त लोगोलाई लिएर कयौँले एमालेमाथि कटाक्ष गरेका थिए। भर्खरै माधव नेपालले पार्टी फुटाएको अवस्थामा आधा सूर्य देखाएर त्यसलाई एमालेले स्वीकारेको भन्दै कतिपयले कटाक्ष गरेका थिए।

अर्कातिर कतिपयले भने उदाउँदो सूर्यलाई डुब्न लागेको भन्दै एमाले पनि अब त्यसैगरी डुबेर सकिने भन्दै व्यंग्य गरेका थिए। गोदावरीमा ओली सरकारमा रहँदाकै योजना अनुसार बनेको हलको नाम नै सनराइज भएकाले विधान महाधिवेशनमा उदाउँदो सूर्यसहितको लोगो बनाइएको पोखरेलले तर्क गरे। महाधिवेशनको कार्यक्रमका लागि पनि विभिन्न थरीका लोगो प्रयोग गर्दै आएको पोखरेलले बताएका छन्।

एमालेले विधान महाधिवेशनबाटै सूर्यभित्र हँसिया हथौडा रहेको चुनाव चिन्ह बनाएको छ। त माओवादीले आफ्नो चुनाव चिन्हको प्रयोग गरेको भन्दै एमालेविरुद्ध कपी राइटको मुद्दा चलाउने पनि चेतावनी दिएको थियो। गैँडाले कम्युनिष्ट पार्टीको झण्डा समातेको लोगो महाधिवेशन अवधिभरको लागि मात्रै निर्माण गरिएको पनि महासचिव पोखरेलले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>