Breaking News

जलवायु सम्मेलनमा नेपालको उपस्थिति र विश्व समुदायले देखाएको हार्दिकता

Banner

काठमाडौँ, कात्तिक २५ –

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको ‘वल्र्ड लिडर समिट’का क्रममा संयुक्त अधिराज्य ९बेलायत०मा पाएको उच्च सम्मान, विश्वका शक्तिशाली देशका नेताहरुसँगको भेटवार्ता र मुुलुकका तर्फबाट राख्नुभएको स्पष्ट धारणाबाट नेपालको कूटनीतिक तथा परराष्ट्र सम्बन्धमा ठूलो उपलब्धि हासिल भएको छ ।

त्यस सम्मेलनका क्रममा भएका उच्चस्तरीय साइडलाइन वार्ताहरु, प्रधानमन्त्री देउवाले देखाउनुभएको आत्मविश्वास तथा परिपक्व व्यवहारका साथै सम्मेलनमा नेपालले गरेको वृहत् तयारीका कारण उहाँसँगै नेपालको एजेण्डाले समेत विश्वको ध्यानाकर्षित गर्न सफल भएको विश्लेषकहरूको भनाइ छ । यसबाट मुलुकको अन्तर्राष्ट्रिय छवि थप उजिल्याएको पनि महसुस गरिएको छ ।

प्रधानमन्त्री देउवाले स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गतको विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुने क्रममा यही कात्तिक १२ देखि १८ गतेसम्म संयुक्त अधिराज्यको भ्रमण गर्नुभएको थियो । यो बहुपक्षीय अन्तर्राष्ट्रिय सम्मेलनलाई उहाँले नेपालका तर्फबाट विश्वसामु आफ्ना धारणाहरु प्रस्तुत गर्ने मञ्चका रूपमा राम्रैसँग सदुपयोग गरेको देखिएको छ ।

कात्तिक १५ र १६ गते आयोजना गरिएको विश्व नेताहरूको शिखर सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा उहाँले पाउनुभएको महत्व मुलुककै लागि गौरवको विषय हो । सोही दिन प्रधानमन्त्री देउवाले सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो ।

जलवायु सम्मेलनमा अन्तर्राष्ट्रिय जगत् र विशेषगरी आयोजक राष्ट्र बेलायतले नेपाल र नेपालका प्रधानमन्त्रीलाई दिएको महत्व विशेष खालको थियो । बेलायती प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका सरकार प्रमुखले सम्मेलनको दोस्रो दिन सहभागी झण्डै १२० देशका राष्ट्र प्रमुख र सरकार प्रमुखमध्ये केही सीमित देश ९२१ देश०का राष्ट्र प्रमुख र सरकार प्रमुखका लागि आयोजना गर्नुभएको ‘ब्रेकफाष्ट मिटिङ’ मा नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा गर्नु पनि नेपालप्रतिकै सम्मान हो ।

सो अवसरमा प्रधानमन्त्री जोनसनले नेपाललाई मञ्चमा राखेर प्यानलिष्टका रूपमा स्थान दिनुभएको थियो । प्रधानमन्त्री देउवाले वन तथा भू–उपयोग व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई प्रतिष्ठित प्यानलिष्टका रूपमा सम्बोधन गर्दै स्वेच्छिक कार्बन बजार र उत्सर्जन घटाउने वन औजारमा नेपालको चासो रहेको धारणा व्यक्त गर्नुभएको थियो । सम्मेलनमा नेपाल जलवायुबाट पीडित राष्ट्र हो भन्ने कुरा नेपालले मुखरित गरेको छ भने नेपालले जलवायु असरसँग जुध्न सरकार र जनताको तर्फबाट प्रयत्न गरेको छ भन्ने कुरालाई पनि विश्व समुदायले स्वीकार गरेको थियो ।

प्रधानमन्त्री देउवासँग बेलायतका चार मन्त्रीले शिष्टाचार र द्विपक्षीय भेटवार्ता गर्नुलाई पनि आयोजक राष्ट्र बेलायतले दिएको महत्वका रूपमा दर्शाउन सकिन्छ । बेलायतका रक्षामन्त्री बेन वालेस र अन्तर्राष्ट्रिय व्यापारमन्त्री एनी–मैरी ट्रेवेलयन, दक्षिण एसिया हेर्ने पराराष्ट्र राज्यमन्त्री लर्ड अहमद र ‘स्मल विजिनेश तथा इण्डष्ट्रिज’ हेर्ने राज्यमन्त्री पल स्कलीले प्रधानमन्त्री देउवासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

रक्षामन्त्री वालेससँग सौहार्दरूपमा भेटवार्ता हुनुका साथै भूतपूर्व गोर्खा सैनिकका मुद्दाका बारेमा गम्भीर छलफल भएको थियो । प्रधानमन्त्री देउवाले ब्रिटिश गोर्खासम्बन्धी मुद्दा पुरानो भएको भन्दै यसको दिगो समाधान गर्न आग्रह पनि गर्नुभएको थियो । त्यस वार्ताका क्रममा द्विपक्षीय वार्ता समिति गठन गरेर उक्त मुद्दा टुङ्ग्याउने सहमति पनि भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>