Breaking News
राष्ट्रिय राजनीतिको केन्द्र बन्दै चितवन,नेताहरुको दौडधुप पनि बढ्दो

चितवन,कात्तिक २४-
सधैँ चर्चामा रहीरहने चितवन यसपटक राष्ट्रिय राजनीतिको केन्द्र बन्न थालेको छ । पछिल्ला समय दुई ठूला दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल कटु आलोचक बनेसँगै चितवन राष्ट्रिय राजनीतिको केन्द्र बनेको हो ।
यी दुईको वाक्युद्धले चितवन अहिले देशकै राजनीतिको केन्द्रबिन्दु बनेको छ । एकअर्कालाई जवाफ फर्काउन दुई नेता चितवन आउन थालेका छन् । एक साता अघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल एकाएक चितवन आइपुग्नुभयो । रिफ्रेस हुने बहानामा गृहनगर चितवन आइपुगेका दाहालले तीनदिन जिल्लामा बिताउनुभयो ।
चितवन क्षेत्र नं.३ का निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका दाहाल भरतपुरदेखि माडीसम्मका विभिन्न कार्यक्रममा सरिक हुनुभयो । ती कार्यक्रमहरुमा सम्बोधन गर्दै उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी ओली माथि विभिन्न आरोप लगाउन भ्याउनुभयो । यतिसम्मकी ओलीले गणतन्त्र र विभिन्न उपलब्धीलाई उल्टाउन आफूमाथि घेराबन्दी गर्ने मिसनमै लागेको र आफूसँग भिड्न आएकाले चितवन महाभारत र कुरुक्षेत्र बन्न लागेको घुमाउरो तरिकाले चेतावनी समेत दिनुभयो ।
‘बुटवलमा घोषणा गरिएको एमाले महाधिवेशन एकाएक चितवनमा सारियो, चितवन कुरुक्षेत्र हुनेवाला छ, सबै तयार हुनुपर्छ’–प्रचण्डले कार्यकर्तालाई निर्देशन दिँदै भन्नुभएको थियो । एमालेले बुटवलमा गर्ने भनिएको दशौं महाधिवेशन एकाएक चितवनमा सार्ने निर्णय गर्नु त्यसैको उपज रहेको प्रचण्डको बुझाइ थियो । त्यसलाई डटेर सामाना गर्न उहाँले कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।
दाहाल काठमाडौंँ फर्किएको दुई दिनपछि सडकमार्ग भएर एमाले अध्यक्ष ओली महाधिवेशनको तयारीका लागि भन्दै चितवन आइपुग्नुभयो । ओलीले पनि तीनदिन नै चितवनमा बिताउनुभयो । उहाँ पूर्व सहयात्री दाहालविरुद्ध सबैजसो कार्यक्रममा कठोर रुपमा प्रस्तुत हुनुभयो । चितवनलाई कुरुक्षेत्र बनाउन लागिएको दाहालको भनाइमा ओलीले उहाँकै निर्वाचन क्षेत्र माडी पुगेर जवाफ फर्काउनुभयो ।
‘उ बेलाको उमेर सम्झेर कुरुक्षेत्र बनाउँछु भन्या होला, अब त्यस्तो सम्भावना छैन, चितवनलाई धार्मिक क्षेत्र बनाइन्छ’–ओलीले माडीमा आयोजित कार्यक्रममा भन्नुभएको थियो । विसं २०७४ को आमनिर्वाचनमा पार्टी एकता गर्नेगरी एकअर्कालाई जिताउन लागी परेका दुई नेता अहिले फेरि एकअर्का प्रति आरोप–प्रत्यारोपमा उत्रिएका छन् । पार्टी विभाजनको कारण एकले अर्कालाई लगाउँदै आएका छन् ।
एमालेले दशौँ महाधिवेशन चितवनमै गर्ने निर्णय गरिसकेकाले एमाले नेताहरुको पछिल्लो एक सातादेखि चितवनमा दौडधुप पनि बढ्दो क्रममा छ । आफूहरुलाई लक्षित गरेरै एमालेले चितवनमा घेराबन्दी गर्न लागिरहेको बुझाइ रहेकामा माओवादीका नेताहरुको पनि चितवनमा आउजाउ बढ्न थालेको छ । यसरी दुई ठूला दलका नेताहरुको लडाइले आउने आमनिर्वाचनसम्ममा चितवन राजनीतिको केन्द्रको रुपमा चर्चामा रहने निश्चित छ ।
एमालेको महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुनेछ । महाधिवेशनका कारण सबै राजनीतिक दलको ध्यान चितवनतर्फ सोझिएको छ । विशेषगरी प्रचण्डको गृह जिल्ला भएकाले पनि प्रचण्डलाई महाधिवेशनबाट गलत सावित गराउन एमाले लागीपर्ने भएकाले आउने निर्वाचनसम्म चितवन राष्ट्रिय राजनीतिको केन्द्र बन्ने पक्का छ ।
























