Breaking News

सरकारले फेर्‍यो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ को प्रदेश प्रमुख

Banner

काठमाडौँ,कात्तिक २३-
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय सरकारले गरेको हो ।

सरकारले प्रदेश १ बाट एमालेका तत्कालीन नेता समेत रहेका सोमनाथ अधिकारी प्यासीलाई हटाएको हो। त्यस्तै कर्णालीबाट गोविन्द प्रसाद कलौनीलाई हटाइएको हो भने सुदूरपश्चिमबाट गंगाप्रसाद यादवलाई बिदा गरिएको छ। यी तीनैजनालाई तत्कालीन एमाले नेतृत्वको सरकारले प्रदेश प्रमुख बनाएको थियो।

बालुवाटार स्रोतका अनुसार सुदूरपश्चिममा नेपाली कांग्रेस, कर्णालीमा नेकपा माओवादी केन्द्र र प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) को भाग परेको छ।

बैठकले सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश १ मा परशुराम खापुङलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ।
कर्णाली प्रदेश प्रमुखमा सिफारिस भएका परियार यसअघि प्रदेश २ प्रमुख थिए। माओवादी केन्द्रनिकट उनलाई यसअघि ओली सरकारले बर्खास्त गरेर राजेश अहिराजलाई नियुक्त गरेको थियो।

सुदूरपश्चिम प्रदेश प्रमुख बनाइएका जोशी कांग्रेस बाजुराका पूर्वसभापति तथा संविधानसभा सदस्य हुन्। प्रदेश १ मा प्रमुख बनाइएका खापुङ एकीकृत समाजवादीका नेता तथा संविधानसभा सदस्य हुन्। सरकारले यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि परिवर्तन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>