Breaking News
चितवनमा कार्तिक २७ गतेबाट राष्ट्रव्यापी पौडी प्रतियोगिता हुँदै

चितवन, कार्तिक २३ –
चितवनमा राष्ट्रव्यापी विद्यालय स्तरीय उमेर समुह पौडी प्रतियोगिता हुने भएको छ ।
भरतपुर महानगर- १३ मा रहेको लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिसोर्ट (एलटिके हवेली) ले यही कार्तिक २७ र २८ गते प्रतियोगिता गर्न लागेको हो ।
एलटिकेको प्राङ्गणमा रहेको स्वीमिङ पुलमा प्रतियोगिता आयोजना गरिने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
एलटिकेका सञ्चालक देभेन लोहनीका अनुसार ६ लेनमा रहेको स्वीमिङ पुल ३ देखि ६ फिटसम्मको गहिरो र २५ मिटर लम्बाइ, १६ मिटर चौडाइमा फैलिएको छ ।
प्रतियोगितामा ८–१०, १२–१४ वर्ष उमेर समूह र १५ वर्ष माथिका खेलाडी सहभागी गराइने छ । ३६ विधामा प्रतिस्पर्धा गराइने जानकारी दिँदै लोहनीले हालसम्म चितवन, मोरङ, ललितपुर, काठमाडौं, कास्की र बाँकेबाट खेलाडी आउने निश्चित भइसकेको जानकारी दिए ।
उनका अनुसार २५ मिटरदेखि १ सय मिटरसम्मका पौडीका खेल हुने छ । ब्रेष्टस्ट्रोकतर्फ १८, बटरफ्लाइतर्फ ८ र फ्रि स्टाइलतर्फ १० खेलहरु हुनेछन् ।
प्रतियोगितामा प्राविधिक सहयोग नेपाल पौडी संघले गर्ने छ भने अन्य खर्च एलटिकेकै हुने लोहनीको भनाइ छ । प्रतियोगिताको अनुमानित लागत ५ लाख रहेको लोहनीले जानकारी दिए ।
यस प्रतियोगिताले राष्ट्रको पौडी खेल विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको लोहनीले बताए ।




























