Breaking News
एमाले अध्यक्ष ओलीको स्वागतमा चितवनका ठाउँठाउँमा घडा राखियो

चितवन, कार्तिक १५ –
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको स्वागतमा चितवनका ठाउँठाउँमा घडा राखिएको छ ।
चितवनको कुरिनटार, मुग्लिन, जुगेडी र रामनगरमा स्थानीयहरु सबैले ओलीको स्वागतका लागि घर अगाडि घडा राखेका हुन् ।
ओली आज सोमबार जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आउन लागेका हुन् । काठमाडौंबाट स्थलमार्ग हुँदै ओली भरतपुरतर्फ आइरहेका छन् ।
ओलीलाई स्वागत गर्न चितवनका नेता कार्यकर्ताको ठूलो पंक्ति चितवन र धादिङ्गको सिमाना मौवा खोला पुगेका छन् । मौवा खोलाबाट स्कटिङ्ग गरेर भरतपुर ल्याउने तयारी गरिएको छ ।
चितवन प्रवेश गरेपछि ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदनआश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनार अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष ओली नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन गर्न पुग्नेछन् ।



























