Breaking News

स्थलमार्गहुँदै एमाले अध्यक्ष ओली चितवन आउने,महाधिवेशन स्थलदेखि राममन्दिरसम्मको अवलोकन गर्ने

Banner

चितवन,कार्तिक १४-

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) चितवन आउँदै हुनुहुन्छ । जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली चितवन आउन लाग्नुभएको हो ।

स्थलमार्गबाट अध्यक्ष ओली बिहान चितवन आइपुग्नुहुनेछ । उहाँ चितवन आउनेबित्तिकै नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदनआश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदीकिनार अवलोकन गर्ने कार्यक्रम रहेको नेकपा एमाले चितवनकी अध्यक्ष एवं राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समन्वय समिति सभापति पार्वती रावलले जानकारी दिनुभयो ।

त्यसलगत्तै सोमबार नै हुने नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशन पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गर्ने बताइएको छ । त्यस्तै, सोमबार दिउँसो साढे तीन बजे भरतपुर–१० मदननगरस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा १०औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गरेर सौराहा जाने कार्यक्रम तय गरिएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान सौराहामा सोमबार साँझ अवलोकन गर्ने कार्यक्रम रहेको रावलले बताउनुभयो ।

त्यसैगरी, कात्तिक १६ गते बिहान भरतपुर–१६ मा निर्माणाधीन क्रुजशिप (मिनी पानिजहाज)को अवलोकन गर्ने, त्यसलगत्तै माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको रावलले बताउनुभयो । राम मन्दिरको अवलोकनपछि माडीका स्थानीयवासीसँग एमाले अध्यक्ष ओलीले छलफल गर्ने समेत रावलको भनाइ छ । अध्यक्ष ओली चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

ओली आउने भएपछि माडीवासी उत्साहित

एमाले अध्यक्ष ओली अयोध्याधाम आउने कार्यक्रम निर्धारण भएपछि नेकपा एमाले माडी नगर कमिटी कार्यक्रम सम्पन्न गर्न सक्रिय भएर लागेको छ । कार्यक्रमलाई व्यवस्थित रुपले सम्पन्न गर्नको लागि नेकपा एमाले माडी नगर कमिटीको सम्पन्न बैठकले ५ वटा उप समितिहरु गठन गरेको नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष रेशमलाल आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रम व्यवस्थापन उपसमितिमा श्यामकुमार विष्ट, प्रचार प्रसारमा श्रीप्रसाद दवाडी, मञ्च र साउण्ड व्यवस्थापनमा रामेश्वर चौधरी, स्वागत सत्कारमा कृष्णराज अधिकारी, युवा परिचालनमा सूर्य भण्डारी रहनुभएको छ । कार्यक्रमलाई व्यवस्थित गर्नुका साथै समग्र माडीको विकास र अयोध्याधामको गुरुयोजनाका सम्बन्धमा व्यवस्थित छलफल गर्ने उद्देश्यले आइतबार माडीका ९ वटै वडा कमिटीको बैठक आयोजना गरिएको प्रचार प्रसार संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । केपी ओली माडी आउने भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>