Breaking News
एमाले भरतपुर महानगरको अधिवेशन भोलि,अध्यक्ष ओलीले उद्घाटन गर्ने

चितवन,कार्तिक १४-
नेकपा एमाले भरतपुर महानगरपालिका कमिटीको अधिवेशन भोलि हुँदैछ । जिल्लाका अन्य ६ वटा स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको अवस्थामा भरतपुरको भने भोलि (सोमबार) हुन लागेको हो ।
भरतपुर–१० स्थित चितवन मिड टाउन रिसोर्टमा हुने महानगर कमिटीको अधिवेशन तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महानगर अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । महानगर अधिवेशनमा झण्डै एक हजार प्रतिनिधि सहभागी हुने भन्दै न्यौपानेले अधिवेशनमा ४०६ सदस्यीय महानगर कमिटी सहित पार्टी सदस्य संख्याको आधारमा प्रत्येक वडा इकाइमा आधारित रही २५ जना पार्टी सदस्य बराबर १ जना, १० जना महिला पार्टी सदस्य बराबर १ जना महिला तथा पाँच जना दलित सदस्य बराबर एक जना दलित सदस्य प्रतिनिधि हुने बताउनुभयो ।
नयाँ नेतृत्व चयनलाई प्रभावकारी र व्यवस्थित बनाउन महानगरका इन्चार्ज एवं केन्द्रीय सदस्य देवी ज्ञवालीको संयोजकत्वमा कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, शिवकुमारी गोतामे, तेजेन्द्रबहादुर खड्का, शान्ति अधिकारी, कृष्ण भुर्तेल, रामप्रसाद न्यौपाने सदस्य रहने नेतृत्व निर्माण एवं व्यवस्थापन कार्यदल गठन गरिएको छ । त्यस्तै केशवप्रसाद रेग्मीको संयोजकत्वमा निर्वाचन व्यवस्थापन उपसमिति, पुरुषोत्तम न्यौपानेको संयोजकत्वमा प्रतिवेदन तयारी उपसमिति गठन भई काम अन्तिम चरणमा पुगेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका महानगर इन्चार्ज एवं केन्द्रीय सदस्य देवी ज्ञवालीले अधिवेशन सम्पन्न गर्न पाँच लाख रुपैयाँ खर्च हुने बताउनुभयो । महाधिवेशनका लागि आवश्यक पर्ने खर्च रकम पार्टी कार्यकर्ताहरुबाट व्यवस्थापन हुने भन्दै ज्ञवालीले चन्दा संकलन नगरिने जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाभित्र नेकपा एमालेका ७ हजार संगठित सदस्यले सदस्यता नवीकरण गराएका ज्ञवालीको भनाइ छ ।
एमालेको महानगर कमिटीको अधिवेशन भोलि नै सक्नेगरी तयारी अघि बढेको भन्दै ज्ञवालीले सोमबार अधिवेशन सम्पन्न गर्न कठिन भए बुधबार सम्पन्न गर्ने जानकारी दिनुभयो । महानगरको अधिवेशन पनि सर्वसम्मत रुपमा गठन गर्नेगरी काम भइरहेको ज्ञवालीको भनाइ छ ।
























