Breaking News

भिमबहादुर विक मृत्यु प्रकरण : चितवनको दुर्गा मन्दिरमा दलित र ब्राहमणसँगै मिलेर गरे पूजा, कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

  • Logo
    app haru
  • ११ कार्तिक २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, कार्तिक ११ –
चितवनको भरतपुर महानगरपालिका ४ दुर्गा चोकमा नवमीका दिन भएको भिमबहादुर बिक मृत्यु प्रकरणको अनुसन्धान अझै जारी छ ।

प्रहरीको अनुसन्धान जारी रहेकै बेला जातीय विभेदका कारण भिमको हत्या भएको भन्दै आन्दोलन भइरहेको छ । उक्त स्थानमा रहेको दुर्गा मन्दिरमा बिक छिर्न खोजेपछि कुटपिट गरी हत्या गरिएको भन्दै आन्दोलेन भइरहेको हो । मन्दिरमा जातीय विभेद गरिएका कारण भिमले ज्यान गुमाउनु परेको भन्दै दलित अधिकारकर्मीहरु र परिवार मिलेर भिमबहादुर बिक संयुक्त न्यायिक संघर्ष समिति गठन गरी काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

तर मन्दिर व्यवस्थापन समितिले दुर्गा मन्दिरमा कुनै विभेद नरहेको जनाएको छ । आज बिहीबार मन्दिरमा सम्पूर्ण समुदायका मानिसहरु मिलेर सामुहिक पूजा गरेका छन् । मन्दिरमा जातीय विभेद कहिल्यै पनि नरहेको र भिममाथि कुटपिट जातीय विभेदका कारण नभएको स्थानीय र जनप्रतिनिधिहरुले सन्देश दिएका छन् ।

स्थानीय एवम् भरतपुर ४ की वडा सदस्य कोपिला परियारले मन्दिरमा पूजाआर्चना गरी सबैलाई टिका लगाइदिएकी छिन् । उनले वाचन प्रवीण पण्डित दीलबन्धु पोखरेलसँगै मन्दिरमा पूजा गरी पोखरेलसहित सबैलाई टिका लगाइदिएकी हुन् ।

सञ्चारकर्मीहरुबीच आयोजना गरिएको कार्यक्रममा मन्दिर व्यवस्थापन समितिले मन्दिरमा कहिल्यै जातीय विभेद नगरिएको र बलि प्रथा पनि मन्दिरमा नरहेको स्पष्ट पारेको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले दुर्गा मन्दिरमा जातीय विभेद नभएको पाएको बताए । यद्यपी उनले भिममाथि जातीय विभेदकै कारण कुटिपिट गरिएको हो वा होइन भन्नेबारे आफूले सत्यतथ्य बुझिरहेको बताए । उनले यथार्थता बुझ्न आफू काठमाडौंबाट घटनास्थलमै आएको बताउँदै उनले मन्दिरमा जातीय विभेद भने नपाएको बताए ।

वाचन प्रवीण पण्डित दीलबन्धु पोखरेलले हिन्दु धर्मले कसैलाई पनि जातका आधारमा विभेद नगरेको बताउँदै दुर्गा मन्दिरमा पनि विभेद नरहेको पाएको बताए । वेद र पुराणमा कतै पनि छुवाछुत भन्ने कुरा नरहेको बताउँदै उनले समाजमा गडेर बसेको कुप्रथा छुवाछुतलाई अन्त्य गर्नुपर्छ भन्ने अभियानमा आफूहरु लागिरहेको उनको भनाइ छ । उनले मन्दिरमा जातीय विभेद भएर भिमको मृत्यु हुन पुगेको भन्ने सुन्दा आफूलाई निकै नरमाइलो लागेको र यथार्थता बुझ्न चितवन आएको बताए । उनले दुर्गा मन्दिरमा कुनै जातीय विभेद नपाएको र स्थानीयमा जातीय सद्भाव कायम रहेको पाएको बताए ।

विश्व ओमकार महासंघका प्रेमलाल महर्जनले हिन्दु धर्मले कसैलाई नहेप्ने बताउँदै केही अधर्मीहरुले हिन्दु धर्मबारे गलत प्रचार गर्न घटनालाई अतिरञ्जित बनाएको बताए । उनले घटना भएको ठाउँ शान्त भए पनि जातीय विभेदको झुठो आरोपमा काठमाडौंमा प्रदर्शन भइरहेको बताए ।

कार्यक्रममा बोल्दै भरतपुर ४ की दलित सदस्य कोपिला परियारले मन्दिरमा कहिल्यै पनि जातीय विभेद नरहेको बताइन् । उनले भिमबहादुरको मृत्यु जातीय विभेदका कारण नभएको पनि बताएकी छिन् । उनले घटनालाई अतिरञ्जित बनाउँदै केही मिडिया र दलित अधिकारकर्मी भन्नेहरुले मन्दिरलाई जोडेर अनर्गल प्रचार गरेको बताइन् ।

मन्दिर व्यवस्थाप समितिकी अध्यक्ष कमला श्रेष्ठले मन्दिरमा कहिल्यै पनि छुवाछुत नगरिएको बताइन् । उनले मन्दिरमा बलिप्रथा ०६४ सालदेखि नै अन्त्य गरिएको पनि स्पष्ट पारिन् । उनले भिमबहादुरको मृत्यु प्रकरण मन्दिरसँग नजोडिएको पनि बताएकी छिन् ।

दुर्गा टोल विकास संस्थाका अध्यक्ष रवि पाण्डेले मन्दिरमा कुनै जातीय विभेद नरहेको बताए । टोलमा अहिलेसम्म कुनै छुवाछुत नदेखिएको उनको भनाइ छ ।

विश्व ओमकार महासंघका केन्द्रीय महासचिव कर्ण विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा भरतपुर ४ का वडाध्यक्ष हरि आचार्य, छिमेकी टोलका अध्यक्षहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

भिमबहादुर बिकलाई कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय ३७ वर्षीय सिताराम बस्नेत र ३६ वर्षीय दिलिप श्रेष्ठ चितवन प्रहरीको थुनामा रहेका छन् । मृत्यु प्रकरणबारे अनुसन्धान जारी रहेको चितवन प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले जानकारी दिए ।

मृत्यु भएको १४ दिन पुगिसक्दा पनि मृतकको दाहसंस्कार अझै गरिएको छैन । बिकको शव भरतपुर अस्पतालको शवगृहमा रहेको डिएसपी अधिकारीले बताए । डिएसपी अधिकारीका अनुसार विकको पोस्टमार्टम रिर्पाेटमा उनको टाउकोमा चोट लागेर मृत्यु भएको पाइएको छ । घटना भएको दिन उनले मदिरा सेवन गरेका थिए वा थिएनन् भन्ने कुरा काठमाडौंमा परीक्षण भइरहेको उनको भनाइ छ ।

अदालतबाट म्याद थप गरी दोषी उपर ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको उनले बताए । जातीय विभेदका कारण कुटपिट गरिएको हो वा होइन भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

जातीय विभेदकै कारण हत्या भएको भन्दै आन्दोलन चर्काइँदै :

प्रहरीले अनुसन्धान जारी रहेको बताइरहेका बेला भिमबहादुर मृत्यु प्रकरण भने नागरिकस्तरमा चर्चाको विषय बनिरहेको छ । बिकको जातीय विभेदका कारण कुटपिट गरी हत्या गरिएको भन्दै भिमबहादुर बिक संयुक्त न्यायिक संघर्ष समितिले निरन्तर संघर्षका कार्यक्रम गरिरहेको छ ।
समितिले दोषीहरुलाई ज्यान सम्बन्धी मुद्दाका साथै जातीय विभेद विरुद्धको पनि मुद्दा लगाउनु पर्ने माग गर्दै आएको छ ।

उक्त स्थानमा रहेको दुर्गा मन्दिरमा बिक छिर्न खोजेपछि कुटपिट गरी हत्या गरिएको भन्दै समितिले आन्दालेन गरिरहेको छ । मन्दिरमा छिर्न नदिएपछि भिमले मदिराको लतमा दुर्गा चोक नजिकै रहेको दिलिपको फार्मेसी पुगेर दिलिप र फार्मेसी नजिकै घर भएका सीतारामलाई सुनाउँदा उनीहरुले दलित भन्दै कुटपिट गरेको आरोप समितिले लगाएको छ । प्लाष्टिकको पाइपले सीतारामले कुटेको र पछि दिलीपले पनि हातले हिर्काउँदा बिक ढलेका र उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ ।

यस्तै बिक बलि दिन भन्दै मन्दिरमा बोका लिएर आएका र उनलाई बलि दिनमात्र रोक लगाइएको कुरा पनि यसअघि बाहिर आएको थियो ।

जेजसरी भए पनि भिमबहादुरको कुटपिटबाट मृत्यु हुनु निकै दुखःद कुरा हो । घटनाबारे सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गरिनुपर्छ । प्रहरी अनुसन्धानमाथि विश्वास गरी सबैले अनुसन्धानमा सहयोग पु¥याउन आवश्यक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>