चितवन विशेष

यो पटक सांसदका रुपमा निर्वाचन लड्ने मेरो अन्तिम हुनसक्छः अध्यक्ष दाहाल

Banner

चितवन,कार्तिक ९-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका अङ्गले आफ्नो गरिमा कायम राख्नुपर्ने बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचना भइरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सर्तक हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यका प्रमुख अङ्गले आफ्नो–आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्न बल गर्नुपर्छ ।”

यस विषयमा सत्ता गठनबन्धनबीच छलफल गरेर एक दुई दिनमै उचित निस्कर्षमा पुग्ने उहाँको भनाइ थियो । प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा उहाँले कुनै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो मात्रै सत्ता साझेदार तीन दलको बैठक भएको थियो । पाँच दलको बैठक हुन बाँकी छ ।”

फरक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीलाई बलियो बनाउनका लागि सबै कार्यकर्ताले सङ्कल्प गर्नुपर्ने समय आएको बताउनुभयो । अहिले गम्भीर परिस्थिति रहेको भन्दै उहाँले भन्नुभयो, “परिस्थिति गम्भीर छ । जसरी पनि सङ्घर्ष गरेर उपलब्धिको रक्षा गर्नुपर्छ ।”

नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशन चितवनमा गर्न लागेको विषयमा अध्यक्ष दाहालले आफूलाई विजयी गराउन एमालेले सुरुआत गरेको बताउनुभयो । एमालेले महाधिवेशन चितवनमा गर्नुले आफ्नो महत्व कति छ भन्ने झल्किएको उहाँको भनाइ थियो । आगामी निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार हुने अध्यक्ष दाहालले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सांसदका रुपमा निर्वाचन लड्ने मेरो अन्तिम हुनसक्छ । चितवन छाड्दिन ।”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>