Breaking News

नेपालका विज्ञहरू भैँसीको बेमौसमी प्रजनन गराउन सफल

Banner

चितवन, कात्तिक ९-
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी भैँसी विज्ञको अन्तर्राष्ट्रिय सम्मेलन एसियन भैँसी सम्मेलन -एसियन बफेलो कंग्रेस_ मा सात अनुसन्धान क्षेत्रका १४० कार्यपत्र प्रस्तुत हुने भएका छन् । सो क्षेत्रका नीतिगतदेखि प्राविधिक विषय समेटिएका सात क्षेत्रभित्र रहेर कार्यपत्र प्रस्तुत हुन लागेका हुन् ।

सम्मेलन आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्दन देवकोटाका अनुसार भैँसी विकास नीति र अर्थतन्त्रमा पार्ने प्रभाव, दूध र मासुको उत्पादन, भैँसीको नस्ल सुधार, प्रजनन क्षमता, व्यवस्थापन र पोषण, भैँसीको स्वास्थ्य र वातावरणीय प्रभाव लगायतका क्षेत्रमा कार्यपत्र प्रस्तुत हुनेछन् । कार्यपत्रमा नीतिगत र प्राविधिक पक्ष समेटिने उहाँले जानकारी दिनुभयो ।

सोमबारबाट सुरु भएको सम्मेलनको उद्घाटनको दिन पाँच देशले आ–आफ्नो देशको भैँसीको अवस्थाबारे प्रस्तुत गरेका थिए । यसैगरी सम्मेलनको अवधारणबारे पनि प्रस्तुत गरिएको थियो । सम्मेलनमा १७ देशका ३५० भन्दा बढी वैज्ञानिकहरुको सहभागिता छ । भर्चुअल माध्यमबाट भइरहेको उक्त सम्मेलनका अवसरमा इन्टरनेसनल बफेलो फेडेरेसनको बैठक र एसियन बेफेलो एसोसिएसनको साधारणसभासँगै नयाँ नेतृत्व हस्तान्तरणसमेत हुनेछ । यही कात्तिक १२ गतेसम्म चल्ने सम्मेलनको अन्तिम दिन सम्मेलनको निचोड पारित गर्दै सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।

भैँसी पशुधनको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण, उपयोगिताका बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास तथा सबलीकरणमा योगदान पु¥याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको समितिका अध्यक्ष डा देवकोटाले जानकारी दिनुभयो ।

सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन् ।

विश्वविद्यालयका पशुविज्ञान, पशुचिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैँसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवम् बेमौसमी प्रजनन प्रविधिमा योगदान गर्दै आइरहेका छन् । बेमौसमी प्रजनन प्रविधिबाट करिब ४७ प्रतिशत सफलता मिलेको उहाँको भनाइ छ ।

मुख्य अनुसन्धानकर्ता रहनुभएका समितिका अध्यक्ष प्राडा देवकोटाले बेमौसमी भैँसी प्रजनन नेपालमा सफल भएको बताउनुभयो । नेपालका विभिन्न ठाउँका २०० भैँसीमा गरिएको अनुसन्धानबाट ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन गराउन सकिएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा साउनदेखि मङ्सिरसम्मलाई मौसमी प्रजनन मानिन्छ भने फागुन चैतजस्ता सुक्खायाममा भैँसी बियाउने बनाउनेलाई बेमौसीमा भनिन्छ । सुक्खा याममा पनि भैँसीको पोषण र अन्य स्वास्थ्यमा सुधार गरी प्रजनन गराउन सफलता मिलेको उहाँको भनाइ छ ।

नेपालमा दुग्ध उत्पादनमा भैँसीको करिब ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको छ । नेपालमा करिब ५२ लाख भैँसीको सङ्ख्या रहेको अनुमान छ । स्थानीय जातहरुमा पहाडतिर लिमे, पारकोटे, गड्डी र तराईतिर तराई जात र मुर्रा जातका भैँसीपालन हुँदै आएका छन् । पछिल्लो समय आयातीत हाइब्रिड जातका भैँसीपालनसमेत बढ्दो क्रममा रहेको जनाइएको छ । दूध दिन छाडेपछि पनि मासु र छाला उपयोग हुने भएकाले भैँसीलाई बहुउपयोगी जनावर मानिन्छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले नेपालमा ओझेलमा परेको पशुपालनलाई प्रवद्र्धन गर्न विश्वविद्यालय लागिपरेको जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक सम्मेलनले पशुपालन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले प्राविधिकसँगै यससँग सम्बन्धित नीतिगत सुधारका लागि पनि सुझाव दिने उपकुलपति प्रडा रेग्मीले बताउनुभयो ।

रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>