Breaking News

कांग्रेस महाधिवेशन अनिश्चितः देउवा समूहको चाहना स्थानीय तहको निर्वाचनपछि मात्रै

Banner

काठमाडौं,कात्तिक ७-

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएको छ । पटकपटक गरी पाँचपटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने तयारी गरेको हो । तर, कहिले महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेसभित्र औपचारिक छलफल भने सुरु हुन सकेको छैन । कांग्रेसले यसअघि गत साउनमा ९ देखि १३ मंसिरसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएको थियो ।

कांग्रेस उच्च स्रोतका अनुसार अब मंसिरका लागि तय महाधिवेशन माघमा गर्ने कि वैशाखमा भन्ने विषयमा सभापति शेरबहादुर देउवा निकटका नेताहरूले आन्तरिक छलफल चलाएका छन् । उनीहरूले स्थानीय तहको निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने विषयलाई पनि अघि सार्ने भएका छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन ३१ वैशाख २०७४ मा भएको थियो । प्रदेश २ मा भने सबैभन्दा पछि २ असोज २०७४ मा स्थानीय तहको निर्वाचन भएको थियो । संविधानअनुसार पाँच वर्षभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्छ । नसकिएको अवस्थामा ६ महिना थप्न सकिन्छ ।

महाधिवेशन अझैं लम्ब्याउँदै जाने पक्षमा कांग्रेसभित्रको संस्थापनइतर समूह भने तयार देखिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला भने तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन समूहलाई दबाब दिँदै आइरहेका छन् ।
निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनका लागि तय मितिसमेत अब प्रभावित हुनेक्रममा छ । कांग्रेसले प्रदेश तहको अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तय गरेको छ ।

यस्तै, १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु हुन सकेको छैन । यस्तै अझै पनि रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएको छैन । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले प्रदेश र केन्द्रको पूर्वनिर्धारित मितिसमेत अब सार्नुपर्ने अवस्था आइसकेको र निर्धारित मितिमा महाधिवेशन गर्न नभ्याइने बताए ।

यादवले १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु नभएकाले प्रदेश अधिवेशन र मंसिरका लागि तोकिएको महाधिवेशन सर्ने निश्चित भएको जनाएका हुन् ।

‘६४ जिल्लामा मात्र वडा अधिवेशन भएको छ, १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु हुन सकेन, तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली अझै निर्वाचन समितिलाई आएको छैन, यस्तो अवस्थामा अब महाधिवेशन तोकिएको मितिमा हुँदैन, यो सम्भव छैन,’ यादवले राजधानीसँग भने ।

पछिल्लोपटक निर्धारित कार्यतालिकाअनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ/नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो ।

यसैगरी, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने उल्लेख छ । यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ । निर्वाचन समितिले १३ हिमाली जिल्लामा भने जिल्ला अधिवेशनसमेत सकाएको छ । २१ हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने भनिए पनि कार्यतालिकालाई नघाएर भए पनि १३ जिल्लामा जिल्ला अधिवेशन भएको थियो ।

यसैगरी, वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा अधिवेशनको मिति अनिश्चित छ । प्रदेश २ का ८ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलालीमा वडा अधिवेशन बाँकी छ । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>