Breaking News

वृद्धाश्रममा दसैँ : वृद्ध बाआमाको आँसु आउने दिन (भिडियोसहित)

  • Logo
    app haru
  • २८ आश्विन २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असोज २८ –
यस वर्षको दसैँ सुरु भइसकेको छ । बजारमा दसैँको चहलपहल सुरु भइसकेको छ । शहर पसेकाहरु गाउँ पुगेका छन् ।

विदेशिएकामध्ये थुप्रै दसैँकै बेला स्वदेश फर्केका छन् । विद्यालय तथा क्याम्पसहरु बन्द छन् । आफ्ना आफन्त, इष्टमित्र तथा घर परिवार एक आपसमा बसेर मनाउने धुनमा छन् ।

चारैतिर दसैँले खुसीयाली ल्याइरहेका बेला भने वृद्धाश्रमका वृद्ध बाआमामा भने खुसीयाली छैन । विभिन्न बाध्यताले वृद्धाश्रममा गएर बस्नेहरुका लागि दसैँले छुन सकेको छैन । आफ्ना छोराछोरी सन्तानहरु भए पनि उनीहरुलाई दसैँ लाग्न सकेको छैन । आफ्नै छोराछोरीले बुढेसकालमा बाआमालाई साहरा दिनुको साटो वृद्धाश्रममा लगेर छाड्ने गरेका छन् । कोही आफन्त नभएर वृद्धाश्रम पुग्नेहरु पनि छन् । केही आफू खुसी वृद्धाश्रममा बस्ने छन् ।

उनीहरुलाई दसैँमा कुनै रमाइलो हुँदैन । उनीहरुलाई दसैँले छुँदैन । पहिला छोराछोरीलाई टीका लगाइदिने गरेको झलझल सम्झन्छन् वृद्धाश्रमका वृद्ध बाआमाहरु । छोराबुहारी भएका वृद्ध बाआमाहरु दसैँमा घर सम्झेर आँसु झार्ने गर्दछन् ।

देवघाटको वृद्धाश्रममा दुई वर्षदेखि बस्दै आउनुभएका ८४ वर्षीय मणिराज जोशीले आपूmलाई घरमा बुहारीले माया नगर्दा वृद्धाश्रम आएको बताउनुभयो । उहाँले छोरा विशेष कारणले घरभन्दा बाहिर रहेको बताउँदै छोरा लिन नआएसम्म आफू घर नफर्किने बताउनुभयो । उहाँले दसैँमा छोराबुहरीसँगै बसेर टिका लगाउन मन लागेको सुनाउनुभयो ।

८ वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी ९० वर्षीय लक्ष्मीमाया श्रेष्ठले आफूलाई छोराबुहारीले लाठीले हिर्काएर वृद्धाश्रम जान भनेपछि भदाहा भाइले देवघाट ल्याएर छाडेको बताउनुभयो । ‘बुढी भएँ काम गर्न सकिनँ । छोराले बुहारीको कुरा सुन्ने भयो । नातिनातिनाले आमाको कुरा सुन्ने । पिट्ने गरेपछि मलाई भदै भाइले वृद्धाश्रम लेराइदियो । आफू वृद्धाश्रममै खुसी रहेको बताउँदै उहाँले घरमा जान मन नभएको बताउनुभयो ।

दसैँका बेला छोराबुहारी, नातिनातिनालाई टीका लगाइदिएको याद आउने उहाँले बताउनुभयो । घरपरिवारको भन्दा बढी माया वृद्धाश्रमबाटै पाएको उहाँको भनाइ छ । दसैँका बेला खानपिन गरेर मनाउने गरेको उहाँले बताउनुभयो । सात वर्षदेखि वृद्धाश्रममा रहेका ७७ वर्षीय नरेन्द्रदास रन्जितकारले घरमा कोही नभएको दुखेसो गर्नुभयो । श्रीमती र सन्तानहरु सबैको निधन भएकाले आफू वृद्धाश्रम आउनुपरेको सुनाउनुभयो ।

आफ्नो घर नभएकाले वृद्धाश्रममा बसेको उहाँले बताउनुभयो । आफन्तीहरु भए पनि नजाने गरेको उहाँले बताउनुभयो । घरमा दसैँ मनाए जस्तो रमाइलो वृद्धाश्रममा नहुने उहाँले बताउनुभयो । उहाँले वृद्धाश्रममा सबै मिलेर खानपिन गरेर दसैँ मनाउने गरेको बताउनुभयो । तीन वर्षदेखि वृद्धाश्रममा बस्दै आउनुभएकी जानकी पौडेलले दसैँका बेला वृद्धाश्रममा खानपिन गरेर मनाइने गरेको बताउनुभयो । आफ्नो कोही नभएर यहाँ आएको बताउँदै उहाँले आफूलाई वृद्धाश्रममा बस्न पाउँदा खुसी लागेको बताउनुभयो । दसैँका दिन पहिले घरमा बसेर टीका लगाउने गरेको झल्को आउने उहाँले सुनाउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>