Breaking News

एमाले विधान महाधिवेशन आज सकिदैं,अध्यक्ष ओलीले जवाफ दिने

Banner

काठमाडौं,असोज १७-

राजनीतिक र साङ्गठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्दै आज नेकपा एमालेको विधान महाधिवेशन सकिँदै छ । अहिले बिहान ८ बजेदेखि नै बाँकी रहेका पाँच समूहले सुझाव प्रस्तुत गर्ने छन् । आज प्रदेश नं. २, गण्डकी प्रदेश, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन तथा प्रवासका समूह नेताले तीन वटै प्रतिवेदनमा आआफ्नो समूहकोतर्फबाट सुझाव राख्ने छन् ।

प्रतिवेदनमाथि प्राप्त सुझावमा राजनीतिक प्रतिवेदन पेस गर्ने पार्टी अध्यक्ष ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान संशोधनमा उपमहासचिव पौडेलले जवाफ दिनुहुने छ । उहाँहरुको जवाफ पछि सुधार गर्नु पर्ने कुराहरु ग्रहण गर्दै आजै राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्ने एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

विधान महाधिवेशनमा हिजो केन्द्रीय निकाय तथा विभाग, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पाँच समूहका टोली नेताले समूहबाट आएका सुझाव प्रस्तुत गरेका छन् । अस्ति शुक्रवार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

तीनै प्रतिवेदनमाथि हिजो शनिवार पहिलो चरणमा १० समूहमा विभाजित प्रतिनिधिले छलफल र दोस्रो चरणमा ती प्रतिवेदनमाथि समूहगत रुपमा उठेका सुझाव समूह नेताहरूले प्रस्तुत गरेका हुन् । १० मध्ये हिजो पाँच समूहका नेताहरूले सुझाव प्रस्तुत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>