Breaking News

प्रधानमन्त्री देउवाका दुई महिनाः सुस्त सरकार, गतिहीन संसद !

Banner

काठमाडौं,भदौं ३१-

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको २ महिना पूरा भइसकेको छ। २/२ महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसक्दा उनको चौतर्फी आलोचना भइरहेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन गराउन बनेको पाँचदलीय गठबन्धनमा सहमति बन्न नसक्दा २ महिनासम्म उनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। ओली नेतृत्वको सरकार हटाउन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको थियो।

सर्वोच्च अदालतको फैसलाअनुसार देउवा असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए। सरकारलाई पूर्णता दिन पटक पटक गठबन्धनको बैठक बसे पनि मन्त्रीको निर्णय गर्न सकेको छैन। पाँचौ पटक प्रधानमन्त्री बनेका देउवा फेरि असफल भएको जानकारले बताउन थालेका छन्।

सरकारलाई पूर्णता दिन गठबन्धनमा छलफल भइरहेको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का बताउँछन्। उनी भन्छन्, ‘केही दिनमै सरकारलाई पूर्णता दिन छलफल भइरहेको छ। केही कारणले अल्झिएको छ। हामी अझै ढिलाई गर्ने पक्षमा छैनौँ।’

सरकार गठन भएको २ महिनासम्म देउवा सरकार ५ जनाको मन्त्रीमण्डलमै सीमित छ। अहिले सरकारमा कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन्। यस्तै, देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए।

देउवालाई अझै पनि मन्त्रिपरिषदलाई पूर्णता दिन ठूलै चुनौती छ। गठबन्धनमा अमेरिकी परियोजना एमसिसी, अध्यादेश, भागबण्डा, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका विषयमा विचाराधीन मुद्दालगायतले अझै केही समय लम्बिने नेताहरूले बताउँदै आइरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>