Breaking News
गणेशधाममा २२ विघामा जलाशय बनाइँदै, मन्त्री सुवेदीले गरे शिलान्यास

चितवन, भदौ ३० –
भरतपुर महानगरपालिका ११ मा रहेको गणेशधाममा २२ विघामा जलाशय बनाइने भएको छ । पुन्यवती खोलामा बाँध निर्माण गरेर २२ विघामा जलाशय बनाउन लागिएको हो ।
उक्त जलाशय निर्माणको आज बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले जलाशय निर्माण भएपछि गणेशधामको सुन्दरता थप बढ््ने बताए । उनले समयमै काम सम्पन्न गर्ने गरी काम थाल्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।
गणेशधाम संरक्षण समितिका महासचिव रविन्द्र बरालले प्रदेश सरकारको बजेटमा जलाशय निर्माण गर्न लागिएको जनाए । ४ करोड १६ लाखमा बागेश्वरी निर्माण सेवा नेपागञ्जसँग
सिँचाइ डिभिजन भरतपुरले जलाशय निर्माण गर्न सम्झौता गरेको छ । यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको बरालले जानकारी दिए ।
साविकको गणेशस्थानलाई धामको रुपमा विकास गर्न लागिएको छ । धाम बनाउने काम मध्येको एउटा काम जलाशय निर्माण रहेको बरालले बताए ।
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव सञ्जिब बराल, भरतपुर ११ का अध्यक्ष बाबुराम अधिकारी, भरतपुर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, बागेश्वरी आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्र पिया, योगि नरहरीनाथ प्राकृतिक चिकित्सालय आध्यात्मिक परिसरका अध्यक्ष कमलबहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।
महासचिव बरालले सञ्चालन गरेको कार्यक्रम गणेशधाम संरक्षण समितका वरिष्ठ उपाध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।



























