Breaking News

चितवनको पोलिटेक्निक कलेज र पूर्वाञ्चल युनिभर्सिटीको चरम लापरबाही : परीक्षा दिएका विद्यार्थीको मार्कसिटमा ‘अब्सेन्ट’

  • Logo
    app haru
  • २८ भाद्र २०७८, सोमबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, भदौ २८ –
भरतपुरमा रहेको नेपाल पोलिटेक्निक इन्सिच्युट (एनपिआई) बाट अनलाइन परीक्षा दिएका विद्यार्थीहरु मर्कामा परेका छन् । पूर्वाञ्चल विश्वविद्यालय र पोलिटेक्निक कलेजको लापरबाहीले विद्यार्थीहरुको वर्षाैंको मिहिनेत र लगानी खेर गएको छ भने उनीहरुको भविष्यमाथि खेलबाड भएको छ ।

जसले गर्दा विद्यार्थीहरु चिन्तित बनेका छन् । विश्विद्यालय र कलेजले दिएको पीडा पोख्दै उनीहरु नारायणी अनलाइनसमक्ष आएका छन् ।

कलेज र विश्वविद्यालयले विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरेको पीडित विद्यार्थीहरुले नारायणी अनलाइनलाई बताएका छन् ।

विद्यार्थीहरुका अनुसार गतवर्षको असोजमा सातौं सेमेष्टरको अनलाइन परीक्षा भयो । १० बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन गरियो । १ बजेसम्म उत्तर पुस्तिकाको पिडिएफ फाइल बनाएर मेल गरिसक्नु पर्ने थियो । तर केही विद्यार्थीहरुले इन्टरनेटलगायतका प्राविधिक समस्याका कारण १ बजेभित्रै फाइल पठाउन सकेनन् । उनीहरुले १ः१० सम्ममा फाइल पठाए ।

अनलाइलन परीक्षा दिन छुटाएका र ढिलो गरी फाइल पठाएकाहरुको पुनः परीक्षा लिन कलेजलाई विश्वविद्यालयले भन्यो । अनलाइन परीक्षामा सहभागी भएका तर फाइल समयमै पठाउन नसकेका विद्यार्थीहरुले पुनः भौतिक परीक्षा दिन आवेदन दिए । तर कलेजले २ बजेसम्ममा फाइल पठाएकाले भौतिक परीक्षा दिनुनपर्ने बतायो । तर एक वर्षपछि परीक्षाफल (रिजल्ट) आउँदा ती विद्याथीहरु अनुपस्थित ‘अब्सेन्ट’ भएको भन्दै मार्कसिटमा फेल (अनुत्तीर्ण) अर्थात इन्कम्पिलिट (आई) लेखेर पठाइयो । यो देख्दा विद्यार्थीहरु चकित परे । कहिल्यै फेल नभएका र धेरै नम्बर ल्याएर पास हुँदै आएका विद्यार्थीहरु नै फेल भएको मार्कसिट आउँदा सबै विद्यार्थीहरु चकित बने ।

यसपछि अनुपस्थित भएका भनिएका विद्यार्थीहरु कलेज प्रशासन समक्ष पुगे । कलेजले यो सबै कमजोरी विश्वविद्यालयकै भएको र विश्विद्यालयसँग बुझ्ने आश्वासन दियो ।

कलेजबाट एग्रिकल्चरको सातौं तथा अन्तिम समेष्टरको परीक्षा दिएकी विद्यार्थी जिज्ञासा गौतमले अब पुनः परीक्षा दिएर मार्कसिटमा ब्याक लाएको देखिएमा आफ्नो भविष्य अन्धाकार हुने भन्दै दुखेसो पोखिन् । ‘हामी समस्यामा परेकाहरु अहिलेसम्म कुनै पनि परीक्षामा फेल भएका छैनौं । हाम्रो सबै पूरानो मार्कसिर्ट हेर्दा हुन्छ’ उनले भनिन्, ‘अनलाइन परीक्षा दिँदा इन्टरनेटका कारण २/४ मिनेट ढिला भएको थियो । तर १ बजेसम्म पठाउन छुटेका र नदिएका सबैले भौतिक रुपमा रेगुलर परीक्षा दिन पाउँथे । हामीले त्यो परीक्षा दिन्छौंभन्दा कलेजले रोक्यो ।’

एग्रिकल्चरको सातौं सेमेष्टरको परीक्षा दिएका विश्वास रेग्मीले पनि जिज्ञासा कै जस्तै दुखेसो पोखे । ‘मार्कसिटमा ब्याक लाएको देखिएमा भविष्यमा अघि बढ्न गाह्रो हुन्छ भन्ने सोचेर वर्षौं मिहिनेत ग¥यौं । अन्तिम परीक्षामा आएर अनलाइन हुँदा हामीले धोका पायौं । स्कलरसिपमा विदेश गएर पढ्ने कत्रो सपना थियो । तर मार्कसिटमा ब्याक देखियो भने पाउँदैनौं । हामीले घरपरिवारमा कसरी मुख देखाउने’ उनीहरुको भनाइ छ ।

विद्यार्थीहरुका अनुसार धेरै जसो विद्यार्थीहरुको एउटा विषयमा अब्सेन्ट देखिएको छ भने केही विद्यार्थीको दुई वटामा देखिएको छ । एग्रिकल्चर र भेटेनरीमा गरेर ५२ जना विद्यार्थीमा यो समस्या देखिएको विद्यार्थीहरुले बताएका छन् ।

यस्तै भेटेनरीको नवौं समेष्टरको एवम् अन्तिम परीक्षा दिएकी सुष्मिता साहले पनि त्यही दुखः पाएकी छिन् । उनले भनिन् ‘अहिले त एग्रिकल्चरको सातौं र भेटेनरीको सातौं/नवौं सेमेष्टरको रिजल्ट आएको हो । अरु सेमेष्टरमा नी त्यस्तै आउने हो की भनेर विद्यार्थीहरु डराएका छन् । सबै आत्तिएका छन् ।’

१ बजे अघि पठाएका केही विद्यार्थीको फाइल पनि इन्कम्पिलिट भनेर आएको बताउँदै विद्यार्थीहरुले उनीहरुलाई चाहीँ युनिर्भर्सिटीले पठाएको समयसहित जाँदा रिजल्ट प्रकाशित गरिदिने भनेको बताए । आफूहरुको पनि त्यहि बेला एकैपटक रिजल्ट प्रकाशन गर्न माग गरेको पीडित विद्यार्थीहरुको भनाइ छ ।

आफूहरुलाई युनिभर्सिटीले छिटो डिसिजन दिन नसके, अझै झुलाएर राखे कानुनी न्याय खोज्ने पीडित विद्यार्थीहरुले बताएका छन् । १ बजेपछि पठाउनु हाम्रो गल्ति भए पनि पछि परीक्षा दिन पर्दैन भन्नु कस्को गल्ति हो ? भन्दै उनीहरुले एउटै स्वरमा प्रश्न गरे ।

एग्रिकल्चरको सातौं सेमेष्टर एवम् अन्तिम परीक्षा दिएका सुरज गोसाइले भने ‘रिजल्ट खासमा आउनुपर्ने ३ महिनामा हो । तर १ वर्ष लगाए । विद्यार्थीले आन्दोलन गरेपछि बल्ल रिजल्ट निकालेका हुन् । कोरोनाले झुलायो । अब फेरि परीक्षा दिन परे धेरै साथीहरुको त उमेर नै जान्छ होला ।’

भेटेनरीको नवौं एवम् अन्तिम सेमेष्टरको परीक्षा दिएका हशन बिक्रम थापाले पनि उस्तै समस्या सुनाए । अब केही समयमा भेटेरिनरी काउन्सिलको लाइसेन्स परीक्षा खुल्ने बताउँदै उनले रिजल्टको टुंगो नलाग्दा सहभागी हुन नसक्ने अवस्था आएको बताए । ‘कतिपय साथीहरुको विदेश गएर पढ्ने योजना थियो । कतिपयको नेपालमै स्नाकोत्तर गर्ने तयारी थियो । कतिपयको जागिर खाने सपना थियो । रिजल्टले गर्दा सबै रोकियो’ उनले भने ।

कलेज प्रमुख भन्छन्, विद्यार्थी र कलेजको केही गल्ति छैन :

कलेजका प्रिन्सिपल बाबुराम उपाध्ययाले यो कुरामा विद्यार्थी र कलेज कसैको पनि केही पनि कमजोरी नरहेको बताए । उनले यो सबै कमजोरी विश्वविद्यालय र त्यहाँ रहेका पदाधिकारीको भएको बताए । ‘सबै युनिभर्सिटीको कुरा हो । युनिभर्सिटीले हाम्रो सफ्टवोयरमा समस्या आयो । दुई बजेसम्म फाइल पठाउनेलाई मान्यता दिनु । उनीहरुको फेरि परीक्षा नलिनु भन्यो,’ उनले भने, ‘हामीले त्यसैअनुसार विद्यार्थीलाई सूचना दियौं । र दुई बजेसम्म पठाउनेहरुसँग पछि चान्स इक्जाम लिएनौ । हामीले दिनु पर्दैन भन्यौं । उनीहरुले दिन्छौं भनेर आवेदन दिन आएका थिए ।’कुनै दुई घण्टाको त कुनै तीन घण्टाको परीक्षा भए पनि युनिभर्सिटी आफैले सबैलाई तीन घण्टा समय दिएको उनले बताए ।

परीक्षाफल प्रकाशन गर्ने जिम्मा कलेजको नभएको बताउँदै उनले युनिभर्सिटीको आधिकारिक सूचनाअनुसार नै काम गरिएको बताए । विश्वविद्यालयमा नयाँ रजिष्ट्रार प्रमुख आएपछि पूरानो नियमलाई मान्दिनभन्दा समस्या सिर्जना भएको उनको भनाइ छ । पहिलाको रजिष्ट्रारले पनि दुई बजेसम्मको फाइल लिने भनेर सूचना पठाएको स्वीकारेको भए पनि अहिलेका रजिष्ट्रारले नमानेको उनले बताए ।

विश्वविद्यालयसँग विद्यार्थीको समस्या छिटो समाधान गर्न र पहिले दिएकै परीक्षाका आधारमा नतिजा प्रकाशन गर्न कलेजले पटकपटक भनिरहेको उनको भनाइ छ ।

उत्कृष्ट नतिजा ल्याइरहेका विद्यार्थीहरुमा नै यो समस्या देखिएकाले यो समस्या जसरी पनि समाधान हुनुपर्छ भनि आफूहरु लागिरहेको उनको भनाइ छ ।

विश्वविद्यालयका रजिष्ट्रार भन्छन्, नियमभन्दा बाहिर जान सक्दैनौं :

पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमनी पोखरेलले विश्वविद्यालय नियमभन्दा बाहिर जान नसक्ने बताए । १ बजेपछि पठाउने विद्यार्थीको नतिजा प्रकाशन गर्न नमिल्ने भएकाले नगरिएको उनले बताए । १ बजभित्रै फाइल पठाएर पनि नतिजा नआएकाहरुको भने नतिजा प्रकाशित गर्ने तयारी गरिएको उनको भनाइ छ । हरेक विषयको परीक्षा समय फरकफरक हुने हुँदा त्यसमाथि तलमाथि गरिनु गलत हुने उनले बताए ।

तर २ बजेसम्म थप गरिएको समयको बारेमा उनले केही बोलेनन् । आफू आएको तीन महिना भएको बताउँदै उनले आफूले विश्वविद्यालयलाई नियमभन्दा बाहिर जान नदिने बताए ।

केही विद्यार्थीहरु समस्यामा परेको स्वीकार गर्दै उनले यसप्रति विश्वविद्यालय गम्भीर बनेको बताए । उनीहरुलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर आफूहरुले सोचिरहेको उनको भनाइ छ ।

यस विषयमा थप बढी जिम्मेवार डिनको कार्यालय हुने बताउँदै उनले आफूहरुले डीनसँग पनि सबै कुरा राखेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>