Breaking News

रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान

Banner

चितवन, भदौ २८
पूर्वी चितवनको रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । रत्ननगर नगरपालिका, स्थानीय व्यवसायी र इलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियतामा क्यामेरा जडान गरिएको हो ।

रत्ननगरको टिकौली चोकदेखि तरकारी चोकसम्मको पाँच किलोमिटर सडकमा २२ वटा सिसी क्यामेरा जडान गरिएको हो । रत्ननगर नगरपालिकाले १४ र अन्य व्यवसायीको सहयोगमा ८ सिसी क्यामेरा जडान गरिएको हो । भीडभाड हुने, दुर्घटना बढी हुने र आपराधिक क्रियाकलाप बढी हुने क्षेत्रमा क्यामेरा जडान गरिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिनुभयो ।

रु २३ लाख ५० हजारको लागतमा जडान गरिएका ती क्यामेरा १२ स्थानमा राखिएको छ । क्यामेराको औपचारिक शुभारम्भ गर्नुहुँदै वनले नगर क्षेत्रभित्र हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुगोस् भनेर सिसी क्यामेरा जडानमा सहयोग गरेको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख बिमला दुवाडीले नगरमा शान्ति र अमन चयन कायम गर्न यसले सहयोग पुग्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सिसी क्यामेरा जडानसँगै मुख्य सहरी क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरीलाई सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सिसी क्यामेराले मुख्य दोषी छुट्याउन सहज बन्ने छ ।”

जडान गरिएका सिसी क्यामेराको अनुगमन इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रण कक्षबाट हुने छ । अधिकारीका अनुसार जिल्लाका सातै पालिकामा प्रहरीले सिसी क्यामेरा जडानका लागि आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>