Breaking News
जनताको भावना विपरित गएर एमसीसी पास हुन दिँदैनौंः एमाले नेता पोखरेल

चितवन,भदौं २६-
नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले जनताको भावना विपरित गएर पार्टीले एमसीसी पास हुन नदिने बताउनुभएको छ । आज (शनिवार) प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि सभा न्याय कानुन तथा मानवअधिकार समितिका सभापति समेत रहनुभएका पोखरेलले नेपालको हितमा नरहेका एमसीसीका बुँदाहरु संसोधन हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“एमालेले गठन गरेको कार्यदलले दिएको सुझाबका आधारमा ३÷४ वटा बुँदाहरु सच्याउनुपर्छ, जनताको भावना विपरितका कुनैपनि सम्झौता मान्य छैन ।” उहाँले अरु अन्तर्राष्ट्रिय सम्झौता सदनबाट पास हुनुनपर्ने एमसीसी चाँही सदनबाटै पास हुनुपर्ने कारण के हो ? त्यो स्पष्ट हुनुपर्छ भन्नुभयो । नेपालमा लागू हुने योजना भारतबाट पूर्व स्वीकृति लिनेकुरा स्वीकार हुन नसक्ने उहाँको तर्क छ ।
“एमसीसीमा नेपालको तर्फबाट १२÷१५ अर्व लगानी हुन्छ,उहाँले भन्नुभयो’,त्यसको लेखा परीक्षण नेपालले नै गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।” एमसीसी अन्तर्राष्ट्रिय सन्धि होइन । यो एउटा सहयोग हो । यो सहयोग र नेपालको कानुन बाझियो भने नेपालको कानुन कार्यान्वयन नहुने भन्ने कुरा स्वीकार हुनै नसक्ने सांसद पोखरेलको जिकिर छ । यस्तै एमसीसी परियोजनाको काम गर्दैगर्दा बौद्धिक सम्पती फेला परे त्यो अमेरिकाको हुने भन्ने कुरा स्वीकार गर्न नसकिने पोखरेलले बताउनुभयो ।
संविधान विपरितको काममा सभामुख
नेता पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले संविधान र विगतको अभ्यास विपरितको गतिविधि गरेको बताउनुभयो । उहाँले सभामुखले गरेको विभेदपूर्ण व्यवहारको संसदमा विरोध जनाएको जानकारी दिनुभयो । “विगतमा जस्तो कुर्सी भाँच्ने र तोडफोडको अभ्यास हामीले गरेको होइन,उहाँले भन्नुभयो’, हामीले संसदको गरिमा राखेर विरोध मात्र गरेका हौं ।”
पार्टीले कुनै पनि सदस्यलाई संसद छैन भन्ने निर्णय गरिसकेपछि त्यसमा कुनैपनि जाँचबुझ गर्ने अधिकार सभामुखलाई नदिएको उहाँले बताउनुभयो । “सभामुखले केवल सूचना टाँस्ने भन्ने छ । अनि त्यो सूचना सरिता गिरीको हकमा, टोपबहादुर रायमाझीको हकमा टाँसिने अहिले नेकपा एमालेको केन्द्रिय कमिटीको आधिकारीक निर्णय सहित जाँदा नटासिने जुन व्यवहार सभामुखबाट भयो । त्यो गलत छ ।” उहाँले भन्नुभयो ।
एमाले चितवन जेठ २ मा फर्किदै
पोखरेलले पार्टीको केन्द्रिय निर्देशन बमोजिम जेठ २ लागु गर्न २८ गते जिल्ला कमिटीको बैठक आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले विगतको दुवै पार्टी कमिटीहरुलाई संयोजन गरेर काम गरिने बताउनुभयो । उहाँले चितवनमा एमाले विभाजनको असर नपरेको भन्दै जिल्लाका सबै नेता र जनप्रतिनिधिहरु पार्टीमै रहेको बताउनुभयो । पार्टीमा दुःख गरेका नेता कार्यकर्तालाई एमालेकै माया रहेको उहाँको भनाई छ ।


























