Breaking News

एमाले जिउँदो बाघ हो भनेर पटकपटक देखाउँछौं, अहिले सदनमा देखाएको त कास्टिङ्ग मात्र हो : महेश बस्नेत

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, भदौ २६ –

नेपाल कम्युनिष्ट पार्टी (एमालेका) युवा नेता महेश बस्नेतले अहिलेको सरकारले प्रतिपक्षसँग दुरी बढाएर द्वन्द्व सिर्जना गराउन खाजेको बताएका छन् ।

प्रेस चौतारी चितवनको आयोजनामा शनिवार भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बस्नेतले पछिल्लो समय सदनमा भइरहेको क्रियाकलापप्रति लक्ष्ति गर्दै यस्तो बताएका हुन् ।

‘सभामुखले सबैलाई हेर्ने नजर एउटै हुनुपर्छ । एमालेलाई लगाउने नियम र अरु पार्टीलाई लगाउने नियम एउटै हुनुपर्छ’ उनले भने, ‘तर सभामुखले त्यस्तो गर्नु भएन ।’ सरिता गिरीलाई जसपाले कारबाही गरेको पत्र १२ घण्टामा टाँस्ने, लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु साह गौरशंकर चौधरीलाई माओवादीले गरेको कारबाहीको पत्र २४ घण्टामा टाँस्ने सभामुखले एमालेले सांसदलाई गरेको कारबाहीको पत्र किन नटाँसेको भनेर प्रश्न गरे ।

‘ह्विप उल्लंघन गर्ने सांसदविरुद्ध सभामुखलाई कुनै निर्णय गर्ने अधिकार छैन मात्र सूचना टाँस्ने हो’ उनले भने । सभामुखले अरु पार्टीले गरेको कारबाहीको सूचना टाँसे पनि एमालेले गरेको कारबाहीको सूचना नटाँसेर एमाले फुटाउने षड्यन्त्र गरेको आरोप लगाए । सभामुखले सबै दललाई गर्ने व्यवहार एउटै नभएकाले एमालेले यसको विरुद्धमा सदनभित्र संघर्ष गरेको उनको भनाइ छ ।

उनले भने ‘प्रमुख प्रतिपक्षसँग द्धन्द्ध बढाएर, जानु भो भने हाम्रै पार्टी अध्यक्षको भाषा सापटी लिएर भन्छु । नेकपा एमालेलाई मरेको बाघ ठानेर कसैले जुँगा उखेल्ने प्रयत्न गर्छ भने नेकपा एमाले जिउँदो बाघ हो भन्ने कुरा हामी पटकपटक देखाउँछौं । हिजो देखाको त कास्टिङ्ग मात्र हो ।’
लोकतन्त्रमा प्रतिपक्षको भूमिकालाई निकै महत्वका साथ हेरिने गरेको बताउँदै उनले सभामुखले सदनमा एमालेको अस्तित्व स्वीकारेर प्रतिपक्षलाई महत्वका साथ हेरेमा आफ्नो पार्टी रचनात्मक प्रतिपक्षको भूमिकामा बस्ने उनको भनाइ छ ।

सदनमा सभामुखले सबै आफूखुसी गरिरहेको उनले बताए । ‘५ मिनटको सट्टा २ मिनटमात्र बेल लगाउनु भएको छ । विपक्षी दलसँग बैठक नबसी सदनको कार्यसूचि राख्नु भएको छ । मन्त्रीले रोष्ट्रमको प्रयोग गर्नुपर्छ तर मन्त्री छापामार शैलीमा दौडेर जानु भएको छ । त्यसैले हामीले सदनमा आक्रोश व्यक्त गरेका छौं,’ उनले भने, ‘सासंद प्रवेश गरेपछि त्यहाँभित्र अवरोध हुने अवस्था सिर्जना भएमा मात्र वा अन्य स्थिति हुँदा मात्र मर्यादापालक छिर्ने हो । तर अहिले सांसदहरु भित्र छिर्नुभन्दा पहिल्यै मर्यादापालक छिरेका छन् । सभामुख अगाडि मर्यादापालक राखेर छापामार शैलीमा जनसेना राखेर चलाए झैं सदन चलाउनु भाछ । राज्यको स्रोत साधन र मोडालिटीको दुरुपयोग गरी उहाँले प्रतिपक्षलाई पेल्नु भएको छ ।’

उनले सत्तारुढ दलहरुलाई आग्रह गर्दै एमालेसँग लड्न हिम्मत भए निर्वाचनमा आउन भनेका छन् । ‘हामी निर्वाचनमा भिड्न तयार छौं । अब निर्वाचनमा भिड्ने तयारी तपाईंहरुको त छैन किन भने । महागठबन्धन बनाएर एमाले विरुद्ध लड्ने भनेको मतलब एमाले ठूलो शक्ति हो भन्ने कुरा त्यसै बुझिन्छ ।’

प्रचण्डको अस्थिर राजनैतिक र अवसरवादी चरित्र एवम् प्रधानमन्त्री बन्न हतारो गरेका कारण नेकपामा विवाद भएको बताउँदै उनले माधव नेपालको कुण्ठा र केपि ओली प्रतिको रिसिबीका कारण एमाले टुक्रिएको बताए । प्रचण्ड र माधवको यी गतिबिधिलाई कांग्रेसले साथ दिँदा यो सबै अवस्था सिर्जना भएको उनले बताए ।

सदन बन्द गरी भोलि पल्टै पार्टी फुटाउने अध्यादेश ल्याएको र पार्टी फुटेर सनाखत गर्ने मिति सकिए लगत्तै सांसद बैठक बोलाइएको बताउँदै उनले यी सबै कुराले एमाले फुटाउने षड्यन्त्र भएको पुष्टि हुने उनले बताए ।

संविधानका सबै धाराले सरकार बनाउन नसकेपछि यो सदनले केही गर्न नसक्ने भो भनेर विघटन गरी जनता सामु चुनावमा जान खोज्दा त्यो पूरा नभएको उनले बताए । उनले देशमा छिट्टै निर्वाचन गराउन पनि सरकारसँग आग्रह गरेका छन् ।

एमसीसीका बारेमा बोल्दै उनले एमसीसीका विभिन्न बुँदाहरु संंसोधन गर्नुपर्छ भनेर आफ्नो पार्टीले यसअघि नै भनिसकेको स्मरण गराए । ‘हामी वैदेशिक सहयोग चाहिन्न भन्न सक्दैनौं । तर नेकपा एमालेले जनताको भावनाअनुसार निर्णय गर्छ । जनताले जे चाहन्छन् त्यही गर्छाैं । हामीले यसअघि नै छानविन समिति बनाएर यीयी विषयमा संसोधन गर्नुपर्छ भनेर भनि सकेका छौं’ उनले भने ।

देशमा विदेशी लगानीको अवश्यक भएकाले यसअघि ओली सरकारले एमसीसी संसोधन गर्ने विषयमा छलफल गर्न सदनमा टेबुल गरेको उनले स्मरण गराए । अब सत्तारुढ दलले के गर्छन् त्यसपछि आफ्नो पार्टीले आधिकारिक धारणा बनाउने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>