Breaking News
नेकपा एसका कार्यकर्तालाई नेता पाण्डेको निर्देशन : जनतालाई गएर तपाईंले सूर्य चिन्ह रोज्ने की म ? भन्नुस्

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, भदौ २५ –
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का नेता एवम् बागमती प्रदेश सभा सांसद राजेन्द्र पाण्डेले चुनाव चिन्हका कारण आफ्नो पार्टी कमजोर नहुने बताएका छन् । शुक्रबार भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रममा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।
उनले आम कार्यकर्तालाई आग्रह गर्दै भने, ‘तपाईं जनताको घर दैलोमा पुगेपछि सूर्य चिन्ह त छाड्न सकिन्न भन्लान । तर तपाईंले सूर्य चिन्ह छान्ने की मलाई छान्ने भन्नुस । तपाईंको त्यो गाउँको आमैलाई सूर्य छान्ने की मलाई छान्नुहुन्छ भनेर सोध्नुस् । तपाईंलाई मर्दापर्दा जे पर्दा पनि गर्ने छोरो छान्ने की सूर्य चिन्ह छान्ने भन्नुस ।’
आफूहरुले नै विगतमा सूर्य चिन्हको प्रचार गरेको बताउँदै उनले अब एकिकृत समाजवादीको चुनाव चिन्हलाई प्रचार गर्नुपर्ने बताए । पार्टी अहिलेसम्म चुनाव चिन्ह के राख्ने भनेर निष्कर्षमा पुग्न सकेको छैन । ‘सूर्य चिन्ह नहुँदैमा हामीले जित्दैनौं भन्ने हुँदैन । प्रयत्न ग¥यो भने जुन सुकै चुनाव चिन्ह चिनाउन सकिन्छ’ उनले भने ।
पार्टीलाई शक्तिशाली बनाउन सबै आआफ्नो ठाउँबाट लाग्न उनले आग्रह गरेका छन् । यो पार्टी नै होइन पार्टी नै बन्दैन भनेर प्रचार गर्ने व्यक्तिहरु रहेको बताउँदै उनले यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गरे ।
माधव नेपालको साथ छाडी एमालेमै रहेकाहरु प्रति लक्ष्ति गर्दै उनले भने, ‘केही साथीहरुले माधव नेपाललाई धोका दिएका छन् । सुरुमा हामी साथमा छौं अघि बढ्नु भनेर पछि धोका दिए । धोका दिनेलाई उनीहरुले पनि कुनै दिन धोका पाउँछन् । धोका दिनले धोका पनि खान्छ हैन र ?’
नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा बसेर नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सक्ने नदेखेर आफूहरुले अर्काे पार्टी बनाएको उनले बताए । ओली जसरी पनि कम्युनिष्ट आन्दोलन सखाप पार्न लागेको पाण्डेको आरोप छ ।
ओलीले आफूहरुलाई कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसलाई सरकारमा पु¥याउने लाल गद्दार भनि आरोप लगाएको बताउँदै उनले कम्युनिष्ट सरकार ढल्नुमा ओली नै प्रमुख जिम्मेवार रहेको बताए ।

चुनावमा माओवादीको साथ नपाएको भए एमालले ५० सिट ल्याउँथेन भन्दै उनले माओवादीको साथ पाएकै कारण एमालेले धेरै सिट जितेको बताए ।
एमालेमा १० बुँदे लागु भएको प्रचारबाजी भइरहेको भन्दै उनले १० बुँदे लागु भएको भए पूर्व माओवादीका नेताहरु एमालेमा कसरी अटाए ? भन्दै प्रश्न गरे । १० बुँदे लागु हुँदैन भनेर नै आफूहरुले अर्काे पार्टी बनाएको उनको भनाइ छ ।
धेरैले साथ छाडे भनेर नआत्तिन नेता कार्यकर्तालाई आग्रह गर्दै पाण्डेले बीचमै खुट्टा कमाएर पछि हट्नेले होइन अन्तिमसम्म लडिरहनेले जित्ने बताए ।
कार्यक्रममा पार्टीको चितवन जिल्ला कमिटी र भरतपुर महानगर कमिटी गठन गरिएको छ । डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन गरिएको छ भने विष्णुराज महत्तोको अध्यक्षतामा १६९ सदस्यीय महानगर कमिटी गठन गरिएको छ ।
सम्बन्धित समाचार :
नेकपा एस : चितवनमा डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय कमिटी गठन


























