Breaking News
चितवन राष्ट्रिय निकुञ्जको गैंडा बस्ती पस्दा स्थानीयमा त्रास

– पुजा ढकाल
चितवन, भदौ २१ –
चितवन राष्ट्रिय निकुञ्जका एकसिंगे गैंडा यस आसपासका बस्तीमा पस्दा स्थानीयमा त्रास फैलिएको छ । निकुञ्ज आसपासका थुप्रै स्थानमा गैंडा पसेर सास्ती दिने गरेको छ । त्यसै मध्येको एउटा ठाउँ हो भरतपुर महानगरपालिका -१६ शिवघाट ।
यहाँका स्थानीयहरुले वर्षेनी गैंडाबाट सास्ती खेप्दै आएका छन् । शिवघाट गैंडाको उच्च जोखिम क्षेत्र हो । शिवघाटका स्थानीयले निकुञ्जको गैंडा दैनिक रुपमा बस्ती पस्दा निकै सास्ती भोग्नु परेको बताएका छन् । गैंडालाई बस्ती पस्नबाट रोक्न जति पहल गरे पनि केही नभएको उनीहरुको गुनासो छ ।
स्थानीय कोपिला शर्माले गैंडा वर्षाैंदेखि नारायणी नदीमा पानीको सतह कम भए लगतै गाउँमा पसेर दुख दिने गरेको बताइन् । काहिले काहीँ दिउँसोको समयमा पनि गैंडा बस्तीमै बास बस्ने गर्दा सबैमा त्रास फैलिने शर्माले बताइन् ।
यस्तै स्थानीय भिम अधिकारीले यस वर्ष नारायणी बढेका बेला गैंडा गाउँकै घोल खेतमा आएर आल बसेको बताए । गैंडा बस्ती र घोल क्षेत्रमा आउँदा गाउँलेलाई खेतीपाती थन्काउन र लगाउन निकै कठिन भएको उनले सुनाए ।
गैंडा बस्तीमा पसेर खेतबारीमा लगाएको धान, मकै, गँहु, तोरी, तरकारी र वस्तुभाउलाई लगाएको घाँस समेत खाँदै मडार्दै नष्ट गरिदिने गरेको स्थानीय सजिता ढकालले बताइन् ।
अर्की स्थानीय देवी गिरीका अनुसार साँझ ७–८ बजे गैंडा बस्ती पस्ने र बिहान ५ बजे जंगल फर्किने गर्छ । तर कहिलेकाही गैंडा बिहान नफर्किएर दिउँसो सम्म बस्ने गर्दछ । जसले गर्दा मानिसहरुलाई हिँडडुल गर्न कठिन हुने गरेको उनले बताइन् ।
अर्का स्थानीय कासीराम शर्माले बिहानी पख शारीरिक व्यायामका लागि हिँड्न (मर्निङ वाल्क गर्न) गैंडाका कारण जोखिम रहेको बताए । बिहानी पख हिँड्नु निकै राम्रो भए पनि यस क्षेत्रका बासिन्दालाई बिहान हिँड्न डर रहेको उनले बताए । यस्तै बिहान तरकारी मण्डी जान, विद्यार्थीहरु स्कुल, कलेज, टिउसन कलास जान पनि जोखिम रहेको उनले बताए ।
शिवघाटमा रहेको गरिमा टोल सुधारका अध्यक्ष दण्ड पानी गौतमले सो क्षेत्रमा गैंडाबाट एकदमै खतरा रहेको बताए । अहिलेसम्म स्थानीयहरु सुरक्षित भएर आफ्नो ज्यान जोगाइरहेको बताउँदै कुन दिन के हुन्छ भन्न सकिने अवस्था नरहेको बताए । प्रधानमन्त्री स्वरोजगार कोषबाट बजेट ल्याएर गैंडालाई बस्ती आउनबाट रोक्नका लागि तारजाली लगाइएको भए पनि त्यो प्रभावकारी नभएको उनले बताए । ‘वनसँग जोडिएको नारायणी नदी किनार क्षेत्र जहाँबाट गैंडा पस्ने गर्छ । त्यो बाटोमा स्थानीयको श्रमदानमा जाली समेत लगाइएको थियो’ उनले भने, ‘तर मेस जालीले गैंडा नियन्त्रण नभएपछि जंगलमै घासे मैदानको व्यवस्था गर्न वन कार्यलय र राष्ट्रिय निकुञ्जमा निवेदन पेस गरेका थियौं । तर समस्या उस्तै छ ।’
भरतपुर १६ वडाध्यक्ष अमृत हमालले यस क्षेत्रमा गैंडाले वर्षेनी दुखः दिने गरेको बताए । गत वर्ष गैंडा नियन्त्रण गर्न केन्द्रीय सरकारबाट ५० लाख बजेट ल्याएर नदी किनार क्षेत्रमा मेस जाली लगाइएको उनले बताए । मेस जाली लगाएपछि गैंडा आउने क्रम केही रोकिए पनि पूर्णरुपमा बन्द हुन नसकेको उनको भनाइ छ । गैंडा बस्त आउनबाट रोक्न आफ्नो तर्फबाट सक्दो प्रयास गरेको बताउँदै उनले यस वर्ष पनि प्रदेशबाट ४० लाख बजेट आएको बताए । उनले उक्त बजेट बिद्युतीय तार टाँग्न, गैंडा आउने क्षेत्रमा खाल्टो खन्न र जंगलमा घासे मैदानको व्यवस्था गर्न प्रयोग गरिने बताए ।


























