Breaking News
चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषिमा १५ करोड ३२ लाख लगानी गर्दै

चितवन,भदौं २१-
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई चितवनले चालु आर्थिक बर्ष २०७८÷०७९को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । परियोजनाले आज (सोमबार)कृषि ज्ञान केन्द्रमा एक कार्यक्रमको आयोजना गरि चितवनमा परियोजनाको १५ करोड ३२ लाख बराबरका योजना सार्वजनिक गरेको हो । जसमध्ये कार्यालयले संघिय जोन सञ्चालन तर्फ ८ करोड २० लाख, प्रदेश सरकारको ब्लक विकास कार्यक्रम कार्यक्रम अन्तर्गत ३ करोड ७१ लाख र स्थानीय तह तर्फको पकेट विकास कार्यक्रम अन्तरगतको ३ करोड ४१ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
यस बर्ष परियोजनाले सिँचाइँ पुर्वाधार निर्माण, संस्थागत भण्डारण गृह तथा प्रसोधन केन्द्र निर्माण, यन्त्रिकरण, तरकारीको बजार प्रवद्र्धन, सहभागितात्मक कृषि प्रविधि सिकाई तथा प्रदशनी केन्द्र, राईपनिङ च्याम्बर निर्माण सहयोग लगायतका कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
परियोजनाले यस बर्ष ६३ वटा सिँचाइँ पुर्वाधारका लागि ७८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै तीन वटा संस्थागत भण्डारण गृह तथा प्रशोधान केन्द्र स्थापनाका लागि ७५ लाख बजेट विनियोजन गरेको छ । यस भण्डारण गृह धान जोन क्षेत्रमा निर्माणका लागि प्राथमिकता दिईने परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिनुभयो । जसले न्यूनतम समर्थन मुल्यमा कृषकहरुको लागि धान खरिद गरि भण्डारण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस बर्ष नयाँ कार्यक्रम सहित सहभागितात्मक कृषि प्रविधि सिकाई तथा प्रर्दशनी केन्द्रका लागि पनि बजेट विनियोजन भएको छ । यस शिर्षक अन्तर्गतका तीन वटा कार्यक्रम सञ्चालनका लागि ७० लाख बजेट विनियोजन गरिएको छ । यो कार्यक्रम धान र तरकारी जोनमा लागु गरिने कृषि अधिकृत ढुंगानाले बताउनुभयो ।
यस्तै प्राविधिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सिक र कमाउ शिर्षक अन्तरगत प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायीक उत्पादन कार्यक्रमलाई पनि परियोजनाले प्राथमिकतामा राखेको छ । यस कार्यक्रमका लागि २० लाख बजेट विनियोजन रहेको छ । यस्तै परियोजनाले पाँच बर्षको अवधिमा चितवन जिल्लामा जोन सञ्चालनका लागि १८ करोड ७७ लाख खर्च गरेको छ । परियोजनाका प्रमुख विनोद कुमार भट्टराईले प्रस्तुत गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटी, भेटेनेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा.दयाराम चापागाई, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, विभिन्न पालिकाका कृषि शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।


























