Breaking News

दुई निर्दाेष सैनिक भरतपुर कारागारबाट छुट्दा जे देखियो (भिडियोसहित)

  • Logo
    app haru
  • १८ भाद्र २०७८, शुक्रबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, भदौ १८ –
निर्दाेष भएर पनि साढे दुई वर्षदेखि कारागार (जेल) जीवन बिताइरहेका दुई सैनिक जवान भरतपुर कारागारबाट छुटेका छन् ।

नेपाली सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई आज शुक्रबार साँझ भरतपुर कारागारले छाडेको हो । गुरुङ र तामाङलाई नेपाली सेनाको चितवनस्थित कालिबहादुर गणमा सेनाहरुले लगेका छन् ।

कारागार भवनभित्रै थुनुवाहरुको गेटमै सेनाको गाडी पुगेको थियो । सञ्चारकर्मीहरुसँग तामाङ र गुरुङलाई बोल्न दिइएको थिएन । सञ्चारकर्मीहरुको पटकपटकको आग्रहपछि तस्विरमात्र खिच्नका लागि सेनाहरुले दिएका थिए ।

भरतपुुर कारागारका प्रमुख कमलप्रसाद काफ्लले सैनिक विशेष अदालतको आदेशअनुसार गुरुङ र तामाङलाई सेनाको जिम्मा लगाएर पठाएको जानकारी दिए ।

हतियार चोरीको आरोप झूठो ठहरिएकाले उनीहरुलाई रिहा गरी कालिबहादुर गण भरतपुरको जिम्मा लगाउन भनि सैनिक विशेष अदालतले पत्र पठाएको बताउँदै कारागार प्रमुख काफ्लले त्यसै अनुसार गुरुङ र तामाङलाई सेनाको जिम्मा लगाएर पठाएको बताए ।

किन कारागारमा थिए निर्दाेष तामाङ र गुरुङ :

नेपाली सेनाको १००७९२ नम्बरको सर्ट मेसिन गन (एसएमजी) चोरीको आरोपमा सैनिकद्वय गुरुङ र तामाङलाई साढे दुईवर्ष अघि कारागार चलान गरिएको थियो ।
२०७६ वैशाख ६ गते तत्कालीन सैनिक अदालत अध्यक्ष सहायक रथी सहदेव खड्काको फैसलाले गुरूङलाई १० वर्ष र तामाङलाई ७ वर्षको जेल सजाय सुनाएको थियो ।

तर त्यतिबेला सैनिकद्वयले सैनिक विशेषमा पुनरावेदन निवदेन दिएका थिए । उनको निवेदनको सुनुवाई अघि बढ्न सकेको थिएन ।

तर साढे दुई वर्षपछि उनीहरु निर्दाेष रहेको पुष्टि भयोे । चितवनमा सैनिक जवान भरत गुरुङको हत्या प्रकरण सतहमा आएपछि उनीहरु निर्दाेष रहेको खुलासा भएको थियो । सैनिकद्वय तामाङ र गुरुङले चोरी गरेको भनिएको एसएमजी हतियार ०७८ को साउन ७ गते चितवनमा सैनिक भरत गुरुङको हत्यामा गंगाधर ढकालले प्रयोग गरेको खुलेपछि यो मुद्दा ढकालतर्फ फर्किएको थियो । यसपछि सैनिक विशेष अदालतले गुरुङ र तामाङको पुनरावेदन निवेदनलाई सुनुवाई गरेको हो ।

सुनुवाईपश्चात सैनिक विशेष अदालतको पाटन उच्च अदालतका न्यायाधीश सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षासचिव बेगेन्द्रराज शर्माको बिहीबार बसेको संयुक्त इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले भरतपुर कारागारलाई पत्र पठाउँदै गुरुङ र तामाङलाई रिहा गरी कालिबहानदुर गणको जिम्मा लगाउन भनेको थियो । जसअनुसार भरतपुर कारागारमा रहेका तामाङ र गुरुङ निर्दाेष ठहरिँदै रिहा भएका हुन् ।

हतियार चोरीको आरोपमा निर्दाेष ठहराए पनि सैनिक विशेष अदालतले गुरुङ र तामाङलाई तीन वर्ष नेपाली सेनामा बढुवा रोक्का गर्न भनेको छ । यसको यथार्थ कारण भने खुलाइएको छैन ।

उता सैनिक समरी जनरल अदालतले गन चोरेको र सोही हतियार प्रयोग गरी आफ्नै साथी सैनिक भरत गुरुङको हत्यासमेत आफैँले गरेको स्वीकार गरेका गंगाध ढकाललाई जन्मकैदको फैसला सुनाइसकेको छ ।

निर्दाेष सैनिकहरुलाई झुठो आरोप लगाएर कारागार राखिएको भन्दै अहिले सेनाको छानविन र सैनिक अदालतको निर्णयको चौतर्फी विरोध भइरहेको छ । सैनिक परिवारसहित विभिन्न सामाजिक संघसंस्था, अभियान्ता तथा नागरिक स्तरबाट सेनाको छानबिनमाथि प्रश्न उठिरहेको छ । सेनाभित्र ठूला पदमा रहेकाहरु उम्किन सानालाई फँसाइने गरेको आवाजहरु उठ्न थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>