Breaking News
दार्चुलाको तुइन घटनामा एसएसबीको संलग्नता पुष्टिः छानबिन समिति

काठमाडौं,भदौं १५-
दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता रहेको पुष्टि भएको छ। उक्त घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटना घटेको देखिएकोले दोषीमाथि कारबाहीका लागि भारतीय पक्षसँग कूटनीतिक पहल गर्न सिफारिस गरेको गृह मन्त्रालयले जानकारी दिएको हो।
समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न, साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ,गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
























