Breaking News

चितवनमा कोरोना संक्रमण फेरि घट्यो, चिकित्सक भन्छन्: तेस्रो लहर आउन सक्छ

Banner

मधुसूदन दवाडी

चितवन, भदौं १०-

भदौंको पहिलो हप्ता सकिएसँगै चितवनमा कोरोना संक्रमण दर केही घटेको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको नियमित तथ्यांकलाई विश्लेषण गर्दा पनि संक्रमण दर केही घटेको देखिन्छ भने सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । यसै वास्तविकतालाई दृष्टिगत गरेर चितवन प्रशासनले जारी निषेधाज्ञालाई भोलिबाट केही खुकुलो बनाएको हो ।

भदौं १ गते चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ५०१ रहेको थियो भने आज १० दिनपछि त्यो संख्या घटेर एक हजार ७८४ मा झरेको छ । त्यस्तै भदौं १ गते चितवनमा कोरोना संक्रमित भएर घरमा आइसोलेसनमा रहनेको संख्या दुई हजार ३५१ र अस्पतालको आइसोलेसनमा १४७ जना, सार्वजनिक आइसोलेसनमा तीन जना रहेका थिए । १० दिनपछि आज कोरोना संक्रमित भएर घरमा आइसोलेसनमा रहनेको संख्या एक हजार ६७९ रहेको छ । अस्पतालको आइसोलेसनमा १०५ जना र सार्वजनिक आइसोलेसनमा कुनै पनि बिरामी छैनन् ।

त्यस्तै भदौं १ गते १९७ जना कोरोनाका बिरामी रहेका थिए जसमध्ये आईसीयूमा ७३ जना, भेन्टिलेटरमा २३ जना, एचडीयूमा ३९ जना र जेनरल बेडमा ८५ जना रहेका थिए । १० दिनपछि आज चितवनका विभिन्न अस्पतालमा कोरोनाका १४८ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ५९ जना, भेन्टिलेटरमा २० जना, एचडीयूमा २१ जना र जेनरल बेडमा ६८ जना रहेका छन् । आईसीयूमा रहने बिरामीको संख्या भने केही बढेको देखिएको छ । साउन ३० गते भने चितवनका अस्पतालमा २३२ जना बिरामी अस्पताल भर्ना भएर उपचार गराएका थिए ।

साउनको अन्तिम हप्ताको तुलनामा भदौंको पहिलो हप्तामा अस्पतालमा बिरामीको चाप केही घट्दै गएको पाइन्छ । चितवनका अस्पतालमा दैनिक मृत्यु हुने कोरोना संक्रमितको संख्या पनि साउन भन्दा भदौं लागेपछि केही घटेको देखिन्छ । पहिले दैनिक झण्डै १० जनाको मृत्यु हुने गरेकोमा अहिले धेरैमा पाँच जनाको मृत्यु भएको देखिन्छ । संख्यामा हरेक दिन केही तलमाथि भइरहेको देखिन्छ । साउनको मध्यतिर निकै उचाइमा पुगेको कोरोनाको सक्रमण दर अहिले विस्तारै ओरालो लाग्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकबाट स्पष्ट हुन्छ ।

कोरोनाको दर सेयर बजार जस्तै कहिले तल कहिले माथि बन्दै गइरहेको दैनिक सार्वजनिक तथ्यांकहरुमा देखिन्छ । धेरै भीडभाड हुने सरकारी कार्यालयहरु र बजार क्षेत्र बन्द रहेको कारणले पनि संक्रमण दर केही घटेको देखिएको चिकित्सकहरु बताउँछन् । यो अवस्था शून्यमा नझरी कुनै तहमा पुगेपछि फेरि संक्रमण बढ्न थाल्यो भने त्यसलाई तेस्रो लहर बन्न सकिने उनीहरुको तर्क छ ।

भरतपुर अस्पतालका कोभिड क्लिनिकल टिमका कोअर्डिनेटर डा प्रमोद पौडेलले चितवनमा कोरोना संक्रमण केही घटेको पाइएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ निषेधाज्ञा र मानिसहरुको चहलपहल कम भएकोले पनि घट्न गएको हो । यो दर निश्चित तहमा पुगेपछि फेरि अचानक बढ्न थाल्यो भने त्यसलाई तेस्रो लहर भन्न सकिन्छ ।’ उनले कोरोना घट्यो भने पनि सावधानी आवश्यक रहने सुझाव दिए ।

त्यसैगरी चितवन मेडिकल कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीले चितवनको कोरोना संक्रमण दर सेयर बजार जस्तै कहिले घट्ने र कहिले बढ्ने भइरहेकोले यसै भन्न नसकिने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ भीडभाड कम भएकोले घटेको हुन सक्छ । विश्वका विकसित देशहरुमा पूरै नियन्त्रण आइसकेको संक्रमण फेरि बढेकोले पनि यसै भन्दै सकिँदैन । ’ उनले संक्रमण दर शून्यमा नझरी फेरि बढ्न थाल्यो भने त्यसलाई तेस्रो लहर भन्न सकिने जानकारी दिए ।
चितवनमा अहिले पछिल्लो समय कोरोनाको जस्तै लक्षण देखिए पनि मानिसहरुमा चेकजाँच नगर्ने प्रवृत्ति बढ्दै गएको छ । भरतपुर अस्पतालका डा पौडेलले भने, ‘गम्भीर बिरामी नपरेसम्म परीक्षणमा नआउने भएकोले पनि संक्रमितको संख्या घटेको हुनसक्छ । अहिले कोरोना परीक्षण गर्ने क्रम घट्दै गएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>