Breaking News

आफूसँग आउन एमाले कार्यकर्तालाई आग्रह गर्दै नेपालले भने – कार्यकर्ताकै भावनाअनुसार नयाँ पार्टी बनाएको हुँ

Banner

काठमाडौं, भदौ १०
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गरेका छन् ।

नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले ओलीले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्यताबस नयाँ पार्टी गठन गर्नु परेको बताए ।

‘नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो । केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सवै खालका मार्क्सवादी मूल्य मान्यतालाई छोडेपछि र क्रान्तिकारीलाई पार्टीबाट निष्कासन गरेपछि त्यसका विरुद्ध विद्रोह गर्ने बाहेक विकल्प भएन’ नेता नेपालले भने, ‘पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भयो ।’

नेपाल र विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको भन्दै आफुहरुले पनि त्यसै गरेको बताए । आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै ओलीबाट पीडित भएकाहरु आफ्नो पार्टीमा त्यस्ता कार्यकर्ता आउने क्रम जारी रहेको दावी समेत गरे ।

नेपालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र पहिला पार्टी दर्ता नगरेको उनले बताए । यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको उनको भनाइ छ ।

नेपालले अहिले परिस्थितिमा परिर्वतन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको बताए । तर हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै उनले भने, थाक्नेहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन ।’

‘हामीसँग पार्टीलाई क्रान्तिकारी दिशामा लैजाने क्रान्तिकारी कार्यकर्ता छन् । ओलीबाट पीडित भएकाहरु हिमाल तराईका कार्यकर्ता, विभिन्न तहका कार्यकर्ताको पंक्तिले ओलीको समूहबाट विद्रोह गरेर समाजवादीमा समाहित भएको घोषणा गरिरहेका छन्’ नेता नेपालको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>