Breaking News
चितवनमा ट्राफिक प्रहरीले सुरु गरे कोरोना सम्बन्धी साप्ताहिक सचेतना कार्यक्रम

चितवन, भदौ ८ –
चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले कोरोना भाइरस सम्बन्धी साप्ताहिक सचेतना कार्यक्रम सुरु गरेको छ ।
अज मंगलबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वे ग्रुप नेपालसँगको साँझोदारीमा ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनिकरण तथा कोभिड सम्बन्धि साप्ताहिक सचेतना कार्यक्रम अभियानको रुपमा सुरु गरेको हो ।
अभियान शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक भगवानराज थापाले ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ यो अभियान चलाइने बताए ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न समयमै सजगता अपनाउन आवश्यक रहेकाले ट्राफिक कार्यालयले सचेतना फैलाउन का जनचेतनामूलक अभियान सुरु गरेको उनको भनाइ छ ।
शुभारम्भ कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य बहादुर थापा, वे ग्रुप नेपालका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

चितवन प्रहरी तथा ट्राफिक प्रहरीहरुले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत यसअघि विभिन्न सामाजिक संघ संस्थाहरुसँग मिलेर मास्क वितरण अभियान चलाएका थिए । यसलाई पुनः निरन्तरता दिने तयारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।
हाल लियो क्लव अफ भरतपुर युथले प्रहरीसँग अनुमति लिएर भरतपुरमा एक महिने निशुल्क मास्क वितरण अभियान चलाइरहेको छ । भदौ १ गतेबाट सुरु भएको अभियान अन्तर्गत हरेक दिन बिहान दुई घण्टा निशुल्क मास्क वितरण गर्ने गरिन्छ । क्लवको मास्क वितरण अभियानमा प्रहरीहरुले पनि सहयोग गर्ने गरेको क्लवले जनाएको छ ।


























