Breaking News

चितवनमा एग्रोभेटहरुको मनपरी, किसानले रासायनिक मल किन्दा विषादी किन्नैपर्ने बाध्यता

Banner

चितवन, भदौ ८-

खैरहनी नगरपालिका–५ सलौलीकी मञ्जुश्री चापागाइँको ६ बिघा खेत छ । खेतमा राख्ने रासायनिक मल किन्न चपागाइँ चार वटा एग्रोभेट र दुई वटा सहकारी संस्थामा पुगिन् । तर, उनले विषादी नकिनेसम्म रासायनिक मल पाउन सकिनन् ।

‘प्रधानमन्त्रीलाई भेट्न सकिएला, मल पाउन ग्राहो छ । मल पाउनका लागि एग्रोभेटबाट शिथ बलाइट, गबारो, फ्डके, झार नआउनेलगायतका विषादी किन्नु पर्छ’, उनले अघि थपिन्, ‘एक बोरा मल किन्दा १२ हजार सम्मको बिषादी किनेकी छु ।”

जब्कौलीकी लक्ष्मी प्रजाले पनि मल किन्न जाँदा उस्तै समस्या झेल्नु परेको थियो । पाँच कठ्ठामा लगाएको धानमा राख्ने युरिया मल किन्न उनले एग्रोभेटबाट विषादी पनि किन्नै प¥यो । ‘१० किलो मल किन्न जाँदा एग्रोभेटले एक बोरा लाने भए दिन्छु, नभए छैन भन्यो । मैले अनुरोध गरेपछि मलाई घाटा हुन्छ । फोरेडको विषादी किनेपछि दिन्छु भन्यो’,उनले भनिन्, ‘३०० रुपैयाँको फोरेडको दुई किलो विषादी किनेर ५०० को मल किनेर आएँ ।’

मल वितरणका लागि जिम्मा पाएका एग्रोभेटले किसानलाई जबरजस्ती रुपमा विषादी किन्न बाध्य पार्छन् । तर, यस्ता एग्रोभेटको नाम खुलेर भन्न समेत किसानहरु सक्दैनन् । ‘रासायनिक मल नराखी केही खेती हुन छाड्यो । एग्रोभेटमा बाहेक अन्यन्त्र किन्न पाइँदैन’, लक्ष्मीले भनिन्, ‘मिडियामा नाम दिँऊ भने पछि मल नपाइने हो कि भन्ने डर हुन्छ । त्यसैले त्यो एग्रोभेटको नाम र ठेगाना भन्न सक्दिन ।’

मलको अभाव खेपिरहेका चितवनका किसानलाई विभिन्न एग्रोभेटहरुले रासायनिक मल किन्दा जबरजस्ती विषादी किन्न बाध्य बनाउँछन् । अहिले राप्ती, खैरहनी नगरपालिकामा सञ्चालित अधिकांश एग्रोभेटले विषादी किन्न लगाउने गरेको खैरहनी नगरपालिका–५का किसान गणेशदत्त नेपालले बताए ।

खैरहनी स्थित श्री कङ्काली एग्रो सप्लायसका सञ्चालक रेशम बहादुर रावल किसानहरुबाट यस्तो गुनासो आएको बताए । राप्ती र खैरहनीमा किसानलाई जबरजस्ती विषादी किन्न बाध्य पारेको गुनासो आएको छ । तर, मैलै किसान यो समयमा यस्ता यस्ता रोग लाग्छन् । त्यसैले यसरी विषादी लाँदा ठिक हुन्छ है भनेर बुझाएर दिने गरेको छु’, उनले भने, ‘जबरजस्ती कसैलाई पनि दिने गरेको छैन ।’

चितवनमा करिब २०० कृषि सहकारी र एग्रोभेटहरुलाई मल बिक्री वितरणका लागि जिम्मा दिइएको छ । तर, अन्य वस्तु किन्न लगाएर रासायनिक मल बिक्रिी गर्नु गैरकानुनी रहेको कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत उमराज अर्याल बताउँछन् । ‘युरिया, डीएपी, पोटास किन्दा कुनै पनि प्रकारको रासायनिक विषादी वस्तु किन्नलाई भन्न पर्ने आवश्यक छैन’, उनले भने ‘मल बीऊ बेच्दा किसानलाई कुनै पनि विषादी जबरजस्ती बेच्नु गैरकानुनी हो ।’

चितवनमा अझै मलको अभाव नै छ । कृषि सहकारी र एग्रोभेट बाहेक अन्य स्थानमा किन्न पाइदैन । तर, एग्रोभेटले किसानलाई ठगिरहेका छन् । मल बेच्दा अनियमिता देखिएमा जाँचबुझ गरेर कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताउँछन् । स्थानीय तहको सिफारिसका आधारमा मलको बिक्री वितरण हुने गरेको छ । सम्वन्धित पालिकाका प्रशासकीय अधिकृतलाई निगरानी बढाउन निर्देशन दिएको छु’, उनले भने, ‘मल बिक्री वितरणमा अनियमिता देखिएमा कानुन अनुसार कारबाही अगाडि बढाउँछु ।’

कृषि सामग्री कम्पनी लिमिटेड शाखा भरतपुरमा गत आर्थिक बर्ष युरिया,डीएपी, पोटास र चुन गरी आठ हजार ८७९ मेक्ट्रिन टन भित्रिएको थियो । त्यसमध्ये आठ हजार २७० मेक्ट्रिक टन मल बिक्री भएको कार्यालयका प्रमुख राजन बगालेले जानकारी दिए । तर, एग्रोभेटहरुले आवश्यकता बिनै विषादी दिँदा किसानहरुले अतिरिक्त आर्थिक भार समेत झेल्नुपरेको छ । अर्को तर्फ कृषि प्राविधिकको सिफारिस बिनै विषादी बिक्री वितरण गर्दा वातावरणमा समेत असर पर्ने देखिन्छ । त्यसैले यस्तो अनियमिता गर्नेलाई प्रशासनले अनुगमन गरी कारबाही गर्न आवश्यक छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>