Breaking News
चितवनबाटै नयाँ लाइसेन्स पनि वितरण गरिने, यातायात कार्यालयले तयारी थाल्यो

चितवन,भदौं ५-
चितवनबाटै नयाँ सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरण गरिने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चितवनबाटै सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरण र नविकरण गर्ने निर्णय गरेसंगै जिल्लाबाट नयाँ लाइसेन्स वितरण र पुरानो नविकरण गरिने भएको हो ।
नविकरणको काम असोज पहिलो साताबाट सुरु हुनेछ भने नयाँ लाइसेन्स वितरणका लागि केही समय लाग्नेछ । लाइसेन्स नविकरणका लागि जनशक्ती व्यवस्थापन र यातायात व्यवस्था विभागसंग समन्वय भएपछि सुरुवात गरिने यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख सुवास उप्रतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘प्रदेश सरकारको निर्णय औपचारिक रुपमा जानकारी आएको छैन । जानकारी प्राप्त भएपछि तत्काल जनशक्ती व्यवस्थापनको काममा लाग्नेछौं ।’ उहाँले नयाँ लाइसेन्स वितरणका लागि भने संरचना निर्माणका लागि समय लाग्ने भएकाले त्यसको तयारीमा लागिरहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारबाट भएको नीतिगत निर्णय नै महत्वपूर्ण भएको भन्दै आवश्यक संरचना र जनशक्ती थप्दै लैजाने बताउनुभयो । कार्यालयले यसअघिनै सवारी साधनको नविकरणको काम गर्दै आएको छ । चितवनमा लामो समयदेखि लाइसेन्स वितरण र नविकरणको काम हुनुपर्ने भन्दै आवाज उठ्दै आएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव संजीव वरालले यातायात सम्बन्धि सम्पूर्ण काम चितवनबाटै हुनेगरी नीतिगत निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नयाँ लाइसेन्स वितरण, नविकरण, सवारी दर्ता, र रिन्यूको काम सबै चितवनबाट हुनेछ ।’ त्यसका लागि मन्त्रालयबाट नीतिगत निर्णय भएको छ । उहाँले जनशक्ती व्यवस्थापन र संरचना निर्माणका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सवारीसाधन सम्बन्धि कामका लागि चितवनबाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । काठमाडौं बाहिर सबैभन्दा धेरै सवारीसाधन दर्ता भएको जिल्लाको रुपमा चितवन स्थापित भएको छ । उहाँले चितवनको आँपटारीमा कार्यालय स्थापना गरेर नयाँ लाइसेन्स वितरणको प्रकिृया अघि बढेको भन्दै वन मन्त्रालयले स्वीकृति दिनासाथ संरचना निर्माणको काम अघि बढाउने बताउनुभयो ।
बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले पहिलो निर्णयबाट चितवनको भरतपुरबाटै लाइसेन्स नविकरण गर्ने व्यवस्था गर्नुभएको हो ।
पुरानो नारायणी यातायातका प्रालिका निर्देशक शंकर गिरीले मन्त्रालयको निर्णयले चितवन र आसपासका जिल्लाका सबै सवारीसाधन चालकलाई खुसी बनाएको बताए ।


























