समाचार
बस दुर्घटना, चालकको मृत्यु, ८ जना घाइते
वीरगञ्ज , भदौ ३ – बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
हेटौंडा-पथलैया सडकखण्डमा पर्ने चुरियामाई मन्दिरको ओरालोमा ना ६ ख ४६४१ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना हुँदा बस उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ ।
ब्रेक फेल भएर बस अनियन्त्रित हुँदा हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि बस सडकमै पल्टिन पुगेको थियो । बीच सडकमा बस पल्टिन पुग्दा केही समय सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।
दुर्घटनामा परी घाइते भएका बारा कोल्हवी नगरपालिका–११ बस्ने २२ वर्षीय बिहारीलाल चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको हात, टाउको र मुखमा चोट लागेको छ । अर्थोपेडिक अस्पताल हेटौंडामा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

























