Breaking News

नारायणगढमा अबैध मोवाइल कारोबारः राजश्व कार्यालयले पनि अनुसन्धान गर्दै

Banner

चितवन,भदौं १-

चितवनको नारायणगढमा भइरहेको मोवाइलको अबैध कारोवारका सम्बन्धमा आन्तरिक राजश्व कार्यालय भरतपुरले पनि अनुसन्धान अघि बढाएको छ । नारायणगढको ‘ए एण्ड के’ मोवाइलका संचालक भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको मोबाइलसहित पक्राउ परेपछि राजश्व कार्यालयले पनि अनुसन्धान अघि बढाएको हो । सो पसलले अबैध कारोवार गरेर कर छलेको हुनसक्ने भन्दै राजश्व कार्यालय आकर्षित भएको हो ।

कार्यालयका प्रमुख कर अधिकृत घनश्याम पन्थीले अबैध कारोवारका सम्बन्धमा आफुहरुलाई पनि सूचना आएको र त्यस विषयमा कार्यालयको पनि ध्यानाकर्षण भएको बताए । उनले भने, ‘हामीले पनि आफ्नो तर्फबाट अनुसन्धान गरिरहेका छौं, अन्य कुरा अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।’ नवलपुरको दुम्किवासमा एक साताअघि करिब १ करोड बराबरको अबैध मोवाइल प्रहरीले बरामद गरेको थियो ।

नवलपुर हुँदै चितवनको नारायणढतर्फ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किवासले ५ सय ९५ थान मोबाइल बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्कीबासको टोलिले गतसाता रातको ११ वजे प्रदेश ३– ०१– ०२३– च –५५४४ नम्बरको गाडीलाई चेकजाँच गर्ने क्रममा अवैध रुपमा मोबाइलको ओसारपसार हुने गरेको फेला परेको थियो । भन्सार छलेर मोबाइल ल्याउने चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ८ का अर्जुन शर्मा भनिने अर्जुन ढकाल र भरतपुर २१ का ईन्द्रलाल श्रेष्ठ प्रहरी नियन्त्रणमा छन । ढकाल नारायणगढको ‘ए एण्ड के’ मोवाइलका संचालक रहेको प्रहरीले जनाएको छ । शर्माले यसअघि पनि मोवाइलको अबैध काम गर्ने गरेको पाइएको प्रहरीको भनाई छ । शर्मा नारायणगढको जनता कृषि सहकारी संस्थाको उपाध्यक्ष समेत रहेका छन । उनले मोबाइलको कारोबारमा सहकारीलाई प्रयोग गर्दै आर्थिक लाभ लिने गरेको सहकारीका एक सदस्यले भने ।

श्रेष्ठ शारदानगर जेसीजका वर्तमान अध्यक्ष समेत हुन । उनिहरुले जिल्लाका जनप्रतिनिधि र केन्द्रिय नेताको हवला दिँदै मोवाइलको अबैध कारोवार गर्दै आइरहेका थिए ।
बरामद भएका मोबाइल र गाडीको मूल्यांकन कम देखाएर पक्राउ परेका व्यक्तिलाई तत्काल धरौटीमा छाड्न चितवनका ठूला व्यापारी, राजनीतिक दलका जिल्ला नेतादेखि केन्द्रिय नेतासम्मले दबाब दिएको स्रोतले बताएको छ । उनिहरुले गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई हारगुहार गरिरहेका छन ।

नवलपरासीको महेशपुर भन्सार कार्यालयले सरकारी वकिल कार्यालयमा रायका लागि मुद्दा पेश गरिएको भन्सार अधिकृत रामप्रसाद अर्यालले बताए । प्रहरीले ९९ लाखको मोबाइल बरामद भएको प्रतिवेदन भन्सार कार्यालयमा बुझाएको छ ।

मोबाइलसँगै पक्राउ परेको डबल क्याबको जीपको मूल्यांकन ७० लाख देखाइएको छ । उक्त जीप १ करोड बढीको रहेको बताइएको छ । ‘फोन त कति आए, कति अझ पनि आउँदै छन् । फोन आउँदैमा छाड्ने कुरा भएन ।’ भन्सार अधिकृत अर्यालले नारायणी अनलाइनलाई भने । मोबाइल बरामद भएका दिनदेखि नै धरौटीमा छोड्न र कम मूल्यांकन देखाउन फोन आउन थालेको उनले बताए । चितवनका जिल्लादेखि केन्द्रिय नेताले फोन गरेको उनको भनाई छ । तर कस्ले फोन ग¥यो भन्ने बारे अर्यालले बताउन चाहेनन् । घटनाको तीब्र अनुसन्धान भइरहेको र थप कुरा अनुसन्धान सकिएपछि मात्र बताउने उनले नारायणी अनलाइनलाई प्रतिकृया दिए ।

सरकारी वकिल कार्यालयमा प्रहरीकै प्रतिवेदनमा उल्लेख भएको मूल्य राखेर मुद्दाका लागि राय लिने र पछि कार्यालयले मूल्य तोक्ने भन्सार कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>