चितवन विशेष
जनपत्रकार सङ्गठन चितवनमा न्यौपानेको नेतृत्व

चितवन,साउन २३-
जनपत्रकार सङ्गठन नेपाल जिल्ला समिति चितवनको दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेको अध्यक्षतामा १३ सदस्य नया कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति उपाध्यक्षमा सूर्य बराल र प्रकाश सिग्देल, सचिवमा सुरज शर्मा, सहसचिवमा वासुदेव आचार्य र कोषाध्यक्षमा जेसिका पुलामी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा आरती सापकोटा, अर्जुन चौधरी, शुक्रराज आचार्य, समीर मल्ल, जुना पौडेल र स्मृति खतिवडा रहनुभएको छ । त्यस्तै प्रकाश आचार्यलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज सुर्दशन पौडेलले पत्रकारहरुले जनताको पक्षमा कलम चलाउँदै आम नागरिकलाई सुसूचित बनाउन पर्नेे बताउनुभयो । पत्रकारहरुले शिक्षा, स्वास्थ्य लगायतका धेरै ठाउँमा भएका विसङ्गति र बेथितिका विरुद्ध सशक्त आवाज उठाउनुपर्ने उहाँको भनाइ थियो । पार्टीको एजेन्डाहरुलाई आम मानिसमा स्थापित गर्न पनि पत्रकारले महत्वपूर्ण भैूमका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जनपत्रकार सङ्गठन केन्द्रीय अध्यक्ष शेरबहादुर विकले आवाज विहीनहरुको आवाज बोल्ने गरी जनपक्षीय पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयोे । आफूहरुले अहिले देशैभरी सङ्गठन विस्तार गर्ने कार्यक्रम गरिरहेको र चितवनमा बनेको नयाँ टिमले देशभरि नै राम्रो सन्देश प्रवाह गर्ने उहाँकोे भनाइ छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव मिनप्रसाद सापकोटा, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, प्रेस चौतारी चितवनमा सहअध्यक्ष कृष्ण आचार्य, प्रेस युनियन चितवनका उपाध्यक्ष सूर्यप्रसाद अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सम्मेलन आयोजक समितिका संयोजक सूर्य बरालको अध्यक्षतामा भएको हो ।


























