Breaking News

यसरी बन्दैछ चितवन देशकै दोस्रो विद्युतीय हब (भिडियोसहित)

  • Logo
    app haru
  • २३ श्रावण २०७८, शनिबार
Banner

– कृष्ण आचार्य / हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, साउन २३ –

मध्य नेपालमा अवस्थित चितवन संभावनै संभावना बोकेको जिल्ला हो । पूर्वाधारका क्षेत्र होस् वा स्वास्थ्य, शिक्षा र कृषि, पर्यटन । यी सबै क्षेत्रमा पछिल्लो समय चितवनमा विकासको लहर नै चलिरहेको छ ।

चितवन अब नेपालको दोश्रो विद्युतीय हब बन्ने चरणमा पुगेको छ । चितवनमा विद्युत सम्बन्धि पूर्वाधार निर्माणको काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ । हिजो शुक्रबारमात्र भरतपुर महानगरपालिका– २ आँपटारीमा न्यू भरतपुर सव– स्टेशनको निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ ।

सो सव– स्टेशन भएकै स्थानमा स्थानमा मस्र्याङ्गदी करिडोरले पनि २२० केभी जिआइएस सव–स्टेशन निर्माण सुरु गरेको छ । यही वर्षमा सो सव–स्टेशन बनिसक्ने छ । यो पनि पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण सम्पन्न भएको न्यू भरतपुर सव–स्टेशन निर्माणाधिन अवस्थामा रहेको हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको ४ वटा सव–स्टेशनमध्येको मुख्य सव–स्टेशन हो ।

सव– स्टेशन निर्माणका लागि १२ वर्षअघि वि.सं. २०६६ साल पुषमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो । तर सो सव–स्टेशन निर्माणको काम विविध कारणले समयमा सम्पन्न हुन सकेन । ठेकेदारको लापरबाही र निर्माण अयोजनाका कर्मचारीहरुकै कमजोरीले गर्दा सव–स्टेशन निर्माणमा ढिलाइ भएको थियो ।

हेटौंडा–भरतपुर २२० केभी र भरतपुर–बर्दाघाट २२० केभी गरेर दुई भागमा विभाजन गरी भरतपुरलाई सेन्टर बनाएर प्रसारण लाइन (ट्रान्समिशन लाइन) बनाइराखिएको छ । यी दुबै ट्रान्समिशन लाइनको निर्माण कार्य पनि १२ वर्ष अघि नै सुरु गरिएको थियो । समयमा काम सम्पन्न हुन नसकेपछि नयाँ कम्पनीलाई कामको जिम्मा दिइएको छ । हेटौंडा–भरतपुर–बर्दाघाट सम्मकै ट्रान्समिशन लाइन निर्माणको नयाँ ठेक्का चिनिया कम्पनी सेन्टरल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनोमिक एण्ड ट्रेड कम्पनी लिमिटेड (सिसिपिजि) ले लिएको छ ।

हेटौंडा–भरतपुर–बर्दघाट प्रशासरण लाइन आयोजनाका प्रमुख नरेश कुमार खड्काका अनुसार भरतपुर–बर्दाघाट २२० केभी ट्रान्समिशन लाइन निर्माणको काम ९९ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । २४६ वटा टावरमध्ये २४४ वटा टावर निर्माण तथा तार टाँग्ने काम सम्पन्न भइसकेको छ । बाँकी दुई वटा टावर बनाउन दुम्किबासमा स्थानीयले अवरोध गरेका कारण रोकिएको छ । स्थानीयले अदालतमा रिट दायर गरेका छन् । त्यसको यही २५ गतेका लागि पेसी तोकिएको छ ।

यस्तै हेटौंडा–भरतपुर २२० केभी ट्रान्समिशन लाइनको २२६ वटा टावरमध्ये १९६ वटा टावर निर्माण सम्पन्न भइ सकेको खड्काले जानकारी दिए । उनका अनुसार १० वटा टावरमा तार तान्ने काम पनि सकिएको छ । पुससम्म सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस ट्रान्समिशन लाइन अन्तर्गत चार वटा सवस्टेशनमध्ये दुई वटा निर्माण सम्पन्न भइ सकेका छन् । जसमध्ये न्यू भरतपुर सव–स्टेशन र बर्दघाट सव–स्टेशन निर्माण सम्पन्न भइसकेको छ । बाँकी दुई सव–स्टेशन निर्माणको अन्तिम चरणमा छन् ।

यो प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुर सव–स्टेशनबाट पूर्व र पश्चिमका लागि विद्युत पठाउने काम हुने छ । जसले यहाँको सव–स्टेशनलाई विद्युतको हबको रुपमा विकास गर्ने खड्काले बताए । नेपालको प्रमुख विद्युतीय हब ढल्केबरपछिको दाश्रो विद्युतीय हब न्यू भरतपुर सव– स्टेशन बन्ने निश्चित रहेको खड्काले बताए ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले पनि भरतपुर विद्युतको हब बन्न लागेको बताउँदै अब चितवनमा विद्युतको समस्या नहुने उल्लेख गरे । उनले हाललाई न्यू भरतपुर सव–स्टेशनबाट चार वटा फिडर निकालेर चितवनको विद्युत लोडको समस्यालाई समाधान गर्न लागिएको जानकारी दिए ।

सिंहले भरतपुरको रिङ्गरोड क्षेत्रमा तारलाई भूमिगत गर्ने काम पनि निकट भविष्यमा सुरु हुन लागेको भन्दै त्यसले पनि विद्युत आपूर्तिमा सहज हुने बताए ।

सम्बन्धित समाचार :

१२ वर्षपछि सकियो न्यू भरतपुर सव–स्टेशन निर्माणको काम, भरतपुरमा विद्युतको समस्या समाधान हुने

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>