रोचक
दाङमा २० वर्षको भाले मरेपछि दाहसंस्कार

दाङ,साउन २३
लामो समय पालिएको कुखुराको भाले मरेपछि दाङमा एक व्यक्तिले दाहसंस्कार गरेका छन्। तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवानिवासी शिव सुवेदीले उक्त भालेलाई १९ वर्ष १० महिना पाले। भाले साउन १६ गते मरेको थियो। भाले मरेपछि उसलाई पनि परिवारको सदस्यजस्तै मानेर दाहसंस्कार गरिएको सुवेदीले बताए। ‘भाले २० वर्ष बाँच्यो, त्यो भालेलाई हामीले परिवारका सदस्यजस्तै मानेर पाल्यौँ,’ उनले भने, ‘त्यसैले गाउँका सबैको सल्लाहअनुसार नै दाहसंस्कार गर्यौँ।’ सुवेदीले भाले मरेपछि गाउँका २०-२५ जनाको सहभागितामा नजिकको टैवा खोलामा लगेर दाहसंस्कार गरिएको बताए।
हिन्दू परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, सोहीअनुसार नै भालेलाई पनि अन्त्येष्टि गरिएको उनले बताए। उनले भने, ‘कपाल खौरिएको छु, नुन छोडेँ, सेतो कपडा लगाएँ।’ भाले मरेपछि घरपरिवार मात्रै नभई गाउँ समाजसमेत भावुक बनेको उनले बताए। भाले २० वर्ष बाँचेपछि त्यसप्रतिको सम्मान र माया पनि उत्तिकै बढेकाले पनि भावुक हुने अवस्था आएको सुवेदीको भनाए छ।
यसले पशुपक्षीलाई पनि सम्मान गर्नुपर्छ भन्ने भावना बढाएकोसमेत उनले बताए।
























