Breaking News

१२ वर्षपछि सकियो न्यू भरतपुर सव–स्टेशन निर्माणको काम, भरतपुरमा विद्युतको समस्या समाधान हुने

  • Logo
    app haru
  • २२ श्रावण २०७८, शुक्रबार
Banner

– कृष्ण आचार्य/हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, साउन २२- न्यू भरतपुर सव–स्टेशन निर्माणको काम सकिएको छ । १२ वर्षपछि भरतपुरको आँपटारीमा सव–स्टेशन निर्माण सम्पन्न भएको हो । नयाँ सव–स्टेशन निर्माणका लागि १२ वर्षअघि वि.सं. २०६६ साल पुषमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो । तर सो सव–स्टेशन निर्माणको काम विविध कारणले समयमा सम्पन्न हुन सकेन । ठेकेदारको लापरबाही र निर्माण अयोजनाका कर्मचारीहरुकै कमजोरीले गर्दा सव–स्टेशन निर्माणमा ढिलाइ भएको थियो ।

अन्ततः आज १२ वर्षपछि सव–स्टेशन निर्माणको काम सम्पन्न भएको छ । १३२ केभी उक्त सव–स्टेशनमा २२.५ एमभीएको ट्रान्सफर्मर जडान गरिएको छ ।

हेटौंडा–भरतपुर–बर्दघाट प्रशासरण लाइन आयोजनाका प्रमुख नरेश कुमार खड्काले काम सम्हालेपछि निर्माणले गति लिएको थियो । खड्काले ६ महिना अघिमात्रै आयोजना प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका थिए । आफ्नो कार्यकालमा सव–स्टेशन सञ्चालन गर्न पाउँदा खुसी लागेको  उनले बताए । आफू आएपछि कामलाई निकै तीव्रताका साथ अघि बढाउन निरन्तर प्रयास गरेका कारण काम सम्पन्न भएकोे उनको भनाइ छ ।

दमौली–भरतपुर र मस्र्याङ्गदी–भरतपुर प्रशारण लाइनलाई न्यू भरतपुर सव–स्टेशनमा ल्याएर जोडिएको हो । अहिले चार्जिङ्गको काम भइरहेको छ ।

हाललाई भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको भरतपुर सव–स्टेशनले विद्युत वितरण गर्दै आएको क्षेत्रमा नै यस न्यू सव–स्टेशनले विद्युत वितरण गरिने छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले न्यू सव–स्टेशन सञ्चालन हुँदा आफू निकै खुसी भएको बताए । उनले भरतपुर सव–स्टेशनले लोड धान्न नसकेको अवस्थामा न्यू भरतपुर सव–स्टेशन निर्माण भएको बताउँदै अब भरतपुरको विद्युत लोडलाई न्यू सव–स्टेशनले धान्ने बताए । यस्तै भरतपुरको देवनगरमा पनि २४ एमभीएको सव–स्टेशन निर्माण हुँदैछ । बनका कारण केही समस्या भएको बताउँदै उनले एक दुई दिनमा त्यो समस्या पनि समाधान हुने बताए । देबनगर सव–स्टेशनमा ३३ केभी जोड्ने तयारी गरेको उनले जानकारी दिए । त्यहाँबाट पनि चार वटा फिडर निकालिने छ ।

भरतपुर सव–स्टेशनका इन्जिनियर विनोद सापकोटाले गितानगर फिडर र गैंडाकोट फिडरमा सँधै समस्या आइरहेने गरेको बताए । उक्त क्षेत्रमा पूरा भोल्टेज पुग्न नसक्दा स्थानीय निकै मर्कामा पर्ने गरेका भए पनि अब त्यो समस्या समाधान हुने उनको भनाइ छ । भरतपुर सव–स्टेशन र न्यू भरतपुर सव–स्टेशनलाई मिलाएर एउटै क्षेत्रमा विद्युत वितरण गर्न लागिएको बताउँदै उनले अब सबै क्षेत्रमा पूरा भोल्टेज पुग्ने दाबी गरे । न्यू सव–स्टेशनबाट चार वटा फिडर निकाल्ने तयारी थालिएको छ ।

निर्माणाधिन अवस्थामा रहेको हेटौंडा–भरतपुर–बर्दघाट प्रशासरण लाइनको ४ वटा सव–स्टेशनमध्येको मुख्य सव–स्टेशनको रुपमा न्यू भरतपुर सव–स्टेशन निर्माण गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>