Breaking News
एमालेको विधान संशोधनका लागि नेताहरुसँग छलफल गर्दै अध्यक्ष ओली
काठमाडौं, साउन २२
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान संशोधनका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरुसँग आज छलफल गर्दैछन् ।
भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरूप अध्यक्ष ओलीले छलफल गर्न लागेका हुन् । तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा विधानबारे छलफल हुँदैछ ।
२०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेश अनुसार संशोधनका लागि प्रस्ताव तयार गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्न लागिएको बताइएको छ ।
एमाले केन्द्रीय कमिटीको बैठक शनिबार बस्दैछ । विधान महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरू समेत बनिसकेका छन् ।
एमालेको हालको विधान संघीय ढाँचा अनुसार छैन । त्यस्तै ७० वर्षे उमेर हद लगायतका विषयहरू र संविधान अनुकूलका संरचनाहरू विधानमा व्यवस्था गर्न बाँकी छ । यीलगायत विधानमा गर्नुपर्ने संशोधन र हेरफेरबारे नेताहरूले एकखालको सहमति गरेपछि मस्यौदा गरिने भएको छ ।


























