Breaking News
हेल्मेट नलगाएका पारसले प्रहरीलाई थर्काए, कारबाही गर्नुको सट्टा ‘सम्झाएर’ फर्काइयो

काठमाडौं, साउन १५ –
पूर्वयुवराज पारश शाहले फेरी ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् ।
हेलमेट नलगार्इ आएका शाहलाई ट्राफिक प्रहरीले रोकका थिए । मादक पदार्थसमेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देख्न सकिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो ।
तनाव घट्ने स्थिति नदेखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको सुनिन्छ । एक ट्राफिक प्रहरीले सेटमा भनेका छन्, ‘पारस शाह रक्सी खाएर एकदम लफडा गरिरहेको छ, गाडी तुरुन्त पठाउनु त ।’
कतिपय सर्वसाधारणले ‘आम जनता थियो भने प्रहरीले अघि नै गाडीमा हालेर लगिसक्ने बताउँदै’ प्रहरीप्रति पनि आक्रोश व्यक्त गरेका थिए । केहिवेरमा शाहको समर्थकले पनि उनको पक्षमा नारा लगाएको सुनिन्छ । पछि सम्झाइबुझाइ गरेर उनलाई हेल्मेट लगाउन लगाएर पठाएको एसएसपी सिंहले संचारकर्मीलाई बताएका छन् ।
पूर्वयुवराज शाहले पटकपटक अनावश्यक हर्कत गर्दै आएका छन् । तर उनलाई कारबाही गर्नुको सट्टा प्रहरीले खाली सम्झाई बुझाई गरीरहेको हुन्छ । वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेल्मेटबेगरै हुइँकिएका थिए। प्रहरीलाई हप्कीदप्की तथा अभद्र व्यवहार गर्दा कसुर अनुसार कारबाही पनि हुने ठाँउमा उनलाई त्यसै फर्काएको देखिन्छ ।


























