Breaking News

प्रदेश सरकारले बनायो चितवनको माडीमा एकिकृत नमुना वस्ती र गन्धर्व संग्राहालय, मुख्यमन्त्रीद्वारा उद्घाटन

Banner

चितवन, साउन ७-

बागमती प्रदेश सरकारले चितवनको माडीमा एकिकृत नमुना वस्ती र गन्धर्व संग्राहालय तथा सांस्कृतिक केन्द्र निर्माण गरेको छ । माडी नगरपालिका ८ कान्तिपुरमा निर्माण गरिएको एकिकृत नमुना वस्ती र गन्धर्व संग्राहलय तथा सांस्कृतिक केन्द्रको आज बिहीबार उद्घाटन गरिएको हो ।

एक कार्यक्रम मार्फत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नमुना वस्ती र सांस्कृतिक केन्द्रको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले गाउँगाउँमा सिँहदरबार भन्ने भनाई मात्रै नभई व्यवहारिक रुपमा कार्यान्वयन भएको बताउनुभयो । उहाँले गाँउमा सिंहदरबारको अनुभुति प्रदेश सरकारले माडीको कान्तिपुरमा स्थापित गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले विपन्न र पछाडि परेका समुदायलाई प्राथमिकतामा राखेर काम गरेको छ । यसको उदाहरण माडीको कान्तिपुर हो ।’ मुख्यमन्त्री पौडेलले कान्तिपुरका गन्धर्व समुदायका बाँकी घर पनि बनाउने भन्दै त्यसका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

कान्तिपुरमा ४६ वटा नुमना घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । मुख्यमन्त्री पौडेलले घरको साँचो गन्दर्भ समुदायलाई हस्तान्तरण गर्नुभयो । प्रदेश सरकारले आफ्ना लागि घर निर्माण गरिदिएको भन्दै उनिहरु खुसी भएका थिए । सुर्यादय कृषि सहकारी संस्थामार्फत सो ठाउँमा चक्लाबन्दी खेती गरिएको छ ।

कृषिलाई पर्यटनसँग जोड्नका लागि होम स्टे स्थापनाका लागि एकिकृत नमुना वस्ती स्थापना गरिएको बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताउनु भयो । कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै ग्रामीण स्तरका नागरिकको जीवनस्तरमा सुधार ल्याउन प्रदेश सरकारले चक्लाबन्दी खेतीको अवधारणा अघि सारेको उहाँले बताउनु भयो । उहाँले प्रदेश सरकारले माडीको कान्तिपुर लगायतका ठाँउमा कृषि र पर्यटनका लागि करोडौं रकम विनियोजन गरेको जानकारी दिनुभयो । कान्तिपुरमा एक सय बिघामा सामुहिक चक्लाबन्दी खेती गरिएको हो । चक्लाबन्दी खेतीसँगै माछापालन, पशुपालन र तरकारी खेती गरिएको छ ।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले माडीलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरेको भन्दै धन्यबाद दिनुभयो । उहाँले कान्तिपुरमा सडक र अन्य पूर्वाधार निर्माणका काम गर्नुपर्ने भएकाले अझैपनि प्रदेश सरकारको सहयोग आवश्यकता रहेको बताउनुभयो । उहाँले पालिकाले पनि सामुहिक चक्लाबन्दी खेतीका लागि प्राथमिकता राखेर काम गरिरहेको जानकारी दिनुभयो ।

बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत कृषि पर्यटन कार्यक्रम अन्तर्गत सो एकिकृत नमुना वस्ती निर्माण गरिएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु विजय सुवेदी, कृष्ण भुर्तेल, रामलाल महत्तो, माडी नगरपालिका प्रमुख ठाकुर ढकाल, उप प्रमुख ताराकाजी महत्तो, कृषि सचिव मोतिना वैद्य जोशी लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>