Breaking News
सुजिताको अन्त्येष्टी : देवघाटमा बाबुले आँशु पुछ्दै दिए दागबत्ती
– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन ४
मृतावस्थामा फेला परेकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको अन्त्येष्टी गरिएको छ ।
आज सोमबार देवाघाटमा परिवारले सुजिताको दाहसंस्कार गरेका हुन् । सुजिताको बुवाले आँशु पुछ्दै सुजितालाई दागबत्ती दिए । दाहसंस्कारमा परिवारका सदस्य र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
सुजिताको शव परिवारले आजमात्र बुझेको हो । पोष्टमार्टमका लागि काठमाडौंमा रहेको शव परिवारले आज बुझेको हो । काठमाडौंबाट शव बुझेपछि चितवनतर्फको देवघाटमा ल्याएर अन्त्येष्टी गरिएको हो ।
परिवार र स्थानीयले सुजिताको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका भए पनि चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिएपछि परिवारले शव बुझेको हो ।
चितवनका प्रहरीका एक अधिकारीका अनुसार सुजिताको भिसेराको रिपोर्ट आइसकेको छैन । भिसेराको रिपोर्ट आएपछि थप कुरा थाहा हुने प्रहरीको भनाइ छ । भिसेराको रिपोर्ट आएपछि सुजिताले मृत्युअघि के खाएकी थिइन् पत्ता लाग्ने छ ।
पोस्टमार्टम रिर्पाेटमा सुजिताको शरीरमा कुनै चोटपटक नलागेको र बलात्कार पनि नभएको उल्लेख छ ।
सुजिता मृत्यु प्रकरणको संक्षिप्त नालिबेली
परिवार स्रोतका अनुसार सुजिता असार ११ गतेदेखि बेपात्ता भएकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी थिइन् सुजिता । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी थिइन् । त्यसलगत्तै परिवारले प्रहरीलाई खबर गरेको थियो ।
तर १० दिनसम्म पनि प्रहरीले सुजिताको बारेमा पत्ता लगाउन सकेन । असार २० गते आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीयले एक युवतीको शव देखे । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी र सुजिताको परिवार पुगेपछि शव सुजिता कै भएको पुष्टि भयो । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो । उक्त वन सुजिताको घरभन्दा करिव ५ किलोमिटरको दुरीमा रहेको छ ।
हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध खनिएका थिए । शव भेटिएको भोलिपल्ट सोमबार दिउँसो प्रहरीले शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउन खोज्दा स्थानीयले सडकमा अवारोध गर्दै नाराबाजी गरेका थिए । त्यो दिन राप्ति नगरपालिका ३ स्थित पूर्वपश्चिम राजमार्ग क्षेत्र तनावग्रस्त बनेको थियो । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर राजमार्ग अवरुद्ध गरेका थिए ।
स्थानीयले बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म राजमार्ग अवरुद्ध गराएपछि चितवन प्रशासनले स्थानीयसँग सम्झौता गरेको थियो । सम्झौता पश्चात राजमार्ग खुलाइएको थियो । मृतकको शव पोस्टमाटम गर्ने, घटनाको निष्पक्ष छानविन गर्ने र परिवारलाई राहतका लागि सरकारसँग सिफारिस गर्ने सहमति भएको थियो ।
त्यसपछि प्रहरीले सुजिताको शव शव पोष्टमार्टमका लागि काठमाडौं पठाएको थियो । अर्काे दिन राजमार्गमा सुजिताको न्याय माग्दै पुनः आन्दोलन चर्किएपछि चितवन प्रशासनले कफ्र्यु लगाएको थियो ।
अहिले सुजिताको मृत्यु कसरी भयो भन्ने कुरा रहस्यमै रहेको छ । आश र विश्वास दुबै गरौं प्रहरीले छिटोभन्दा छिटो घटनाका सत्यतथ्य छानविन गर्ने छ ।