Breaking News

गैंडा तस्करीलाई अदालतले धरौटीमा छाड्दा संरक्षणमा चुनौती

Banner

चितवन, साउन ४
वन्यजन्तु तस्करहरु अदालतबाट अत्यन्त न्युन धरौटीमा छुट्ने कार्यले वन्यजन्तुको संरक्षणमा गम्भीर चुनौती थपिएको मध्वर्ती क्षेत्र व्यवस्थापन समिति, चितवन राष्ट्रिय निकुञ्ज कसराले जनाएको छ ।

आइतबार समितिका अध्यक्ष प्रकाश ढुंगानाले एक विज्ञप्ति जारी गर्दै अदालतबाट अत्यन्त न्युन धरौटीमा छुट्ने कार्यले संरक्षणमा गम्भीर चुनौती थपिएको बताएका हुन् ।

‘विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेको विश्वकै दुर्लभ वन्यजन्तु एक सिङ्गे गैंडा, बाघ जस्ता महत्वपूर्ण दुर्लभ वन्यजन्तुहरुको चोरि शिकारमा संलग्न तस्करहरुलाई राष्ट्रिय निकुञ्जमा खटिएका कर्मचारी, सुरक्षा निकायहरुको अथक प्रयास र मध्वर्ती क्षेत्रमा बसोबास गर्ने जनताहरुको सहयोगमा पक्राउ गर्ने तर अदालतबाट अत्यन्त न्युन धरौटीमा छुट्ने कार्यले संरक्षणमा गम्भीर चुनौती थपिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता बहुमुल्य लोपोन्मुख वन्यजन्तुको चोरि शिकारमा संलग्न हुने अपराधीहरुलाई कडाभन्दा कडा कारबाही गर्न समितिले सम्बन्धित निकायसँग माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वमा नै नेपाललाई चिनाउने चितवनका राष्ट्रिय निकुञ्ज र यसमा पाइने यस्ता बहुमुल्य, लोपोन्मुख वन्यजन्तुहरुको तस्करिमा संलग्न व्यक्तिहरु पूरा अवधि कारबाहीका भागिदार भई छुट्दा समेत पुनः चोरि शिकारमा नै संलग्न भएको तथ्यांक सार्वजनिक भइरहेको अवस्थामा हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार तोकिएको कारबाहीमा परेका व्यक्तिहरु धरौटीमा छाड्ने प्रकृयाले चोरि शिकारमा संलग्न तस्करहरुको मनोबल बढाएको र संरक्षणकर्मीको मनोबल गिराउने प्रष्ट छ ।’

नेपालको राष्ट्रिय गौरव एकसिंगे गैंडा विश्वको नै दुर्लभ वन्यजन्तु भएकाले यसको संरक्षणमा जुट्न सम्बन्धि सबैमा समितिले अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>