Breaking News

आफ्नो क्षेत्रको टोल प्रोफाइल निर्माण अभियानमा सांसद सुवेदी, भरतपुर ११ बाट सुरुवात

Banner

चितवन, साउन १
भरतपुरमा टोल प्रोफाइल निर्माण अभियान सुरु गरिएको छ । भरतपुर महानगरपालिका ११ दरबार चोक टोलविकास संस्थाबाट अभियानको सुरुवात गरिएको हो ।

बागमती प्रदेशका सांसद विजय सुवेदीले आज शुक्रबार आयोजित कार्यक्रममा टोल प्रोफाइल निर्माणका लागि प्रश्नावली फारम र नमुना पुस्तक टोलकी अध्यक्ष जमुना परियारलाई हस्तान्तरण गर्नुभयो । सांसद सुवेदीकै पहलमा सांसद नागरिक समन्वय समितिले टोल प्रोफाइलका लागि फारम र नमुना पुस्तक तयार गरेको हो ।

सो अवसरमा बोल्दै सुवेदीले प्रत्येक व्यक्ति र टोलको सही तथ्यांकका लागि प्रोफाइल निर्माण गर्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तथ्यांककै अभावमा राज्यका सेवा सुविधाहरु समानुपातिक वितरण हुन सकेका छैनन् । यो समस्या टोल प्रोफाइलमार्फत समाधान हुनेछ ।’

उहाँले प्रत्येक व्यक्ति, घर, टोल, वडा हुँदै समग्र निर्वाचन क्षेत्रको तथ्यांक संकलनका लागि यो अभियान थालिएको बताउनु भयो । उहाँले तथ्यांकका आधारमा नागरिकका समस्या समाधान गर्न सजिलो हुने बताउनु भयो ।

चितवन क्षेत्र नम्बर– २/२ अन्तर्गत भरतपुर महानगरपालिकाका ७ वटा वडामा टोल प्रोफाइल निर्माण गर्ने योजना रहेको सांसद नागरिक समन्वयन समिति चितवन २/२ का अध्यक्ष सन्तोष पन्तले जानकारी दिनुभयो । सुरुवातमा केही टोलबाट तथ्यांक संकलनको काम गरिने भन्दै उहाँले यसलाई क्रमशः विस्तार गर्दै लैजाने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले वडा कमिटीका अध्यक्ष प्रकाश आचार्यले भरतपुरमा पहिलो पटक यसप्रकारको टोल प्रोफाइल निर्माण हुन लागेको भन्दै सक्रिय सहभागिता जनाउन टोलवासीलाई आह्वान गर्नुभयो । उहाँले सांंसदको सक्रियतामा सुरु भएको यो अभियानलाई सफल बनाउन पार्टी पंक्ति पूर्णरुपमा लागि पर्ने बताउनु भयो ।

सांसद नागरिक समन्वय समितिका सदस्य शिवराज गिरीको संयोजकत्वमा टोल प्रोफाइल फारम निर्माण गरिएको हो । पटकपटकको छलफल र विज्ञहरुको सुझावका आधारमा फारम निर्माण गरिएको छ । टोल विकास संस्थाका अध्यक्ष र जानकारहरुसँग फारम निर्माणका क्रममा छलफल र सुझाव संकलन गरिएको थियो ।

कार्यक्रममा जलदेवी सामुदायिक वनका अध्यक्ष केशव थापा ‘निरु’, गणेशधाम संरक्षण तथा संवद्र्धन समितिका वरिष्ठ उपाध्यक्ष राजन गौतम, महासचिव रविन्द्र बराल लगायतको उपस्थिति रहेको थियो ।

विपत कोष स्थापना
दरबार चोक टोलविकास संस्थामा विपत राहत कोष स्थापना गरिएको छ । कोषमा सांसद विजय सुवेदीले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । कोषमा प्रत्येक दिन प्रत्येक परिवारले १ रुपैयाँ जम्मा गर्ने गरी कार्यविधि निर्माण गरिएको दरबार चोक टोलविकास संस्थाकी अध्यक्ष जमुना परियारले जानकारी दिनुभयो ।

टोलमा समस्या परेका परिवारलाई कोषमार्फत सहयोग गरिने उहाँले बताउनु भयो । कोष सञ्चालनका लागि टोल विकास संस्थाका अध्यक्षको संयोजकत्वमा समिति समेत निर्माण गरिएको छ ।

दरबार चोक टोलमा पार्क निर्माण गरिने
दरबार चोक टोल विकास संस्थामा पार्क निर्माण गरिने भएको छ । जलदेवी सामुदायिक वन र टोलले संयुक्तरुपमा पार्क निर्माणका लागि पहल गर्ने छन् । पार्क निर्माणका लागि समिति समेत निर्माण गरिएको अध्यक्ष परियारले बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>