Breaking News
प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने
काठमाडौँ,असार २९ –
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ । सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लागेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हुँदै हुनुहुन्छ । उहाँले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि छाड्दै हुनुहुन्छ ।
विसं २०७४ फागुन ३ मा नियुक्त भएपछि नेकपा(एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीमा रहनुभएको थियो । यस्तै प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्ने भएपछि एमाले स्थायी कमिटी बैठक पनि स्थगन गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज अपराह्न १ बजे बोलाइएको बैठक स्थगन गरिएको जानकारी दिनुभयो । यसैबीच एमाले विवाद समाधान कार्यदलले आफ्नो सहमतिका बूँदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको छ । यसअघि सोमबार अध्यक्ष ओलीलाई सो सहमति बुझाइएको थियो । नेता नेपालले पार्टी एकता अघि बढाउन आफू विपक्षी गठनबन्धनबाट अलग भएको जानकारी दिइसक्नुभएको छ ।
























