Breaking News
परिवारको करकापमा ‘छोरी’ भएकै कारण गर्भपतन गराउँदै

मनिका विश्वकर्मा
चितवन, असार २८ –
कालो ब्लाउज लगाएकी सानी अस्पतालको पेटीमा फ्याटफ्याट चप्पल बजाउँदै आउँदै थिइन् । अस्पतालको दाहिनेतिरको पेटीमा सानी (नाम परिवर्तन) दुई पुरुष, आफ्नो श्रीमान् र भाईको पछाडि छिटो छिटो पाइला चाल्दै थिइन् । रातो फरियासँगै आएकी उनको अनुहारमा रातो पिरो भएर डराएको जस्तो देखिन्थ्यो । बाँया हातमा कपडाको झोला झुन्ड्याउँदै थिइन् । श्रीमान् र भाईसहित सानी अस्पतालको भिडियो एक्सरे गर्ने कोठातिर लागिन् । कोठा नजिकै सेतो एप्रोन लगाएकी नर्स कोठा बाहिरै नै उभिरहेकी हुन्छिन् । ती पुरुष र सानी पनि नर्सतिर लम्किँदै जान्छन् । अनि एक पुरुषले भन्न थाल्छन्, ‘सिस्टर छोराछोरी हेर्नुपर्ने थियो । दिदीको पेटमा नानी कि बाबु छ भनेर हेर्नुपर्ने थियो ? कसरी हेर्ने हो कहाँ हो हेर्ने’ सेतो ड्रेसमा सजिएकी नर्स भन्छिन्, ‘हुन्छ यही हो गर्ने ठाउँ । तीन बजेपछि हुन्छ जाँच गर्ने म्यामहरु खाना खाने छुट्टी भएको छ अब तीन बजेपछि मात्रै हुन्छ ! बस्नोस् तपाइँहरु’ । सानी म बसेको ठाउँमा लुसुक्क आएर बसिन् ।
यसपछि उनीसँग कुराकानी सुरु हुन्छ ।
सानीको घर सिरहामा रहेछ । ३५ वर्षीय उनको सानै उमेरमा परिवारकै सहमतिमा सिरहामा विवाह भएको थियो । सानीले तीन पटक नै लगातार छोरी जन्मिएकी थिइन् । उनको जेठी छोरी ९ वर्ष, माइली छोरी ६ वर्ष र कान्छी छोरी ४ वर्षका छन् । फेरि उनी छोरा जन्माउने आशमा गर्भवती भएको तीन महिना भयो । पहिलो छोरी जन्मिदा उनलाई जति सासुससुराबाट खुसी थियो अहिले त्यो छैन सानीलाई । सानी नरोएको दिन र आधा पेट खानु नपरेको दिन छैन । छोरी जन्मिएकै कारण उनले धेरै दुःख पाउनु परेको बताइन् । चौथो बच्चा पनि छोरी भन्ने आशंकाले सानी श्रीमान्सहित चितवनको नारायणी सामुदायिकमा भिडियो एक्सरे गर्न आएका रहेछन् । भाई चितवनमा नै बसोबास गर्ने भएकोले सानीलाई यतै गर्भपतन हुने कुरा बताएका रहेछन् । सानीलाई त आफ्नो पेटमा जे भए पनि स्वीकार रहने भए पनि उनी श्रीमान्को करमा चितवन आएकी रहिछन् । उनले मन्द स्वरमा भन्दै थिइन्, ‘श्रीमान्ले भन्या छ, छोरी छ भने फाल्ने रे, तर म मजबुरमा छु, हामीलाई त माया लाग्छ छोरी भए नि छोरा भए नि । के गर्ने छोरी छ भने फाल्नुपर्छ ।’
उनले सासुससुराको कर र श्रीमान्को दबाबले यस्तो काम गर्नुपरेको बताउँछिन् । भिडियो एक्सरे गर्ने समय तीन बजे थियो । उनका श्रीमान् र भाईले भिडियो एक्सरे कोठाअघि नै बस्नु भनेर बाहिर गएका थिए । यही मौकामा उनले आफ्ना मनका भावहरु पोखेकी थिइन् । उनीहरुको पालो आउन अझै एक घण्टा लाग्ने थियो । कुरा गर्ने क्रममा उनका आँखामा आँशु छचल्किएका थिए । रातो फरियाको सर्काेले पुछ्दै बोल्दै थिइन् । सिरहाबाट चितवन आउनको लागि उनलाई एक दिन लागेको थियो । बाटो बिग्रेकोले उनीहरु जाममा परेका थिए । अहिलेको अवस्था हेर्दा छोराले भन्दा छोरीले नै आमाबाबुलाई धेरै माया गर्ने उनले बताइन् । उनी भन्दै थिइन् ‘छोरीले पनि छोराभन्दा दोब्बर गर्न सक्छन् । उनीहरु प्यारा हुन्छन् ।’
लिंग पहिचान गरेर गर्भपतन गर्नु कानुनीरुपमा अपराध नै हुने नारायणी सामुदायिक अस्पतालका प्रसुति तथा स्त्री रोग विषेशज्ञ डा लोकबहादुर सेढाईले बताए । उनले भने, ‘छोराछोरीको विभेद नै समाजले निम्ताएको हो । छोरी भयो भनेर गर्भपतन गर्नुमा महिलाको भन्दा परिवारको गल्ती हो । महिलालाई दबाब दिएर नै उनीहरु गर्भपतन गर्न बाध्य हुुन्छन् ।’ समाजमा सामाजिक परिवेशले गर्दा महिलाले नचाहँदा नचाहँदै गर्भमा के छ भनेर हेर्नुपर्ने उनको भनाइ छ । लिंग पहिचान गरी गर्भपतन गर्नु महिलाको दोष नभई समाजको दोष रहेको उनले बताए । छोराछोरी के छ भनेर भिडियो एक्सरे गर्न त धेरै आउने तर छोरी छ भनेर गर्भपतन गर्न भनेर चाँही डाइरेक्ट नभनी लुकीछिपी अर्थात् अप्रत्यक्ष तरिकाले गर्ने सेढाई बताउँछन् । नेपालभरी नै लिंग पहिचान भएर गर्भपतन गरेको रेकर्ड पाउन सकिने उनले बताए । उनका अनुसार सरकारले गर्भमा छोरा कि छोरी भनेर हेर्नु नै कानुन विपरित रहेको भन्छ तर, एक आमाले आफ्नो पेटमा के छ भनेर हेर्न पाउनु पर्छ । उनले भने, ‘लिंग पहिचान गराएर विभेद गरी गर्भपतन गर्नु सरासर गलत छ ।’
चितवनको सरकारी अस्पतालको तथ्यांक हेर्ने हो भने छोरी भन्दा छोराको जन्मदर बढिरहेको देखिन्छ । पछिल्लो समय मात्रै छोरीको संख्यामा कमी देखिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । गत साउनदेखि जेठसम्म मात्रै सरकारी अस्पतालमा चार हजार ३१५ जना छोरी र चार हजार ९५७ जना छोरा जन्मिएका छन् । पौडेलका अनुसार ११ महिनामा चितवनमा ५३.७७ प्रतिशत छोरा जन्मिदा ४६.५३ प्रतिशत छोरी जन्मछन् । पछिल्लो तथ्यांकले पनि चितवनमा छोरा चाहानेहरु धेरै रहेको देखिन्छ ।
चितवनका अधिवक्ता साथै लेखक सरिता तिवारीको अनुसार कार्यान्वयनको हिसाबले हेर्दा लिंग पहिचान गरेर गर्भपतन गर्न पाइँदैन । तर, विभिन्न निजी हस्पिटलहरुले भने गर्भपतन गर्दै आएका छन् । सरकारी अस्पतालहरुमा कानुन विपरीत गर्भपतन गरिदैन । लिंग पहिचान गरेर पनि अस्वस्थ भएको कारण गर्भपतन गरेको भनेर ढाकछोप गरी गरिने उनले जानकारी दिइन् । सम्बन्धित व्यक्तिको मन्जुरीमा गरिने भएकोले पनि यस विरुद्धमा कुराहरु नउठ्ने तिवारीले बताइन् । महिलालाई नै विभिन्न धम्की, लोभलालच देखाएर दबाब दिएर नै गर्भपतन गर्न लगाउने जस्ता घटनाले देखाउने उनको भनाइ छ । महिलालाई लिंग पहिचान गरी गर्भपतन गर्न बाध्य पारिएको उनले बताइन् । महिला बाध्य भएकोले परिवार विपरीत बोल्न सकिरहेको हुदैन ।
मुलुकी अपराध (संहिता) ऐन–२०७४ को दफा १८९ अनुसार गर्भवती महिलाको मन्जुरीमा १२ हप्तासम्मको, महिलाको ज्यानमा खतरा पुग्नसक्ने वा निजको शारीरिक, मानसिक स्वास्थ्य खराब हुनसक्ने, वा विकलांग बच्चा जन्मिन्छ भने इजाजत प्राप्त चिकित्सकको राय भई महिलाले गर्भपतन गर्न पाइनेछ । त्यस्तै जबरजस्तीकरणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको, कुनै पनि डरलाग्दो रोग लागेमा, एचआईभी लागेमा, निको नहुने रोग लागेमा महिलाको मन्जुरीमा गर्भपतन गर्न सकिन्छ । योबाहेक अरु अवस्थामा गर्भपतन गरे सजाय हुनेछ । १२ हप्तासम्म गर्भ भई एक वर्षसम्म कैद र १० हजार जरिवाना हुने, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ पतन गरेमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना, २५ हप्ताभन्दा बढीको गर्भपतन गरेमा पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानुनमा उल्लेख छ । महिलालाई डर, धम्की दिई, करकापमा पारी प्रलोभन देखाई गर्भपतन गराउन नहुने कानुनले जनाएको छ । यस्तो गरेको खण्डमा जसले पनि ६ महिनाभित्र गर्भपतन विरुद्ध उजुरी दिन पाउनेछन् ।
चितवनका रेडियोलोजिष्ट डा. सुवास बस्नेतका अनुसार समाजमा छोराछोरी भन्ने विभेद रहिनै रहेको छ । समाजमा नै लिंग पहिचान गरी गर्भपतन गर्ने कुराहरु सामान्य जस्तो रहेको उनको भनाइ छ । समाजमा नियम कानुनको बारेमा थाहा भएका र शिक्षित परिवारबाट नै लिंग पहिचान गरी गर्भपतन गरिरहेको उनले बताएका छन् ।
फाईल तस्बिर
























