Breaking News
चीनको खोप उत्पादन क्षमता दिनदिनै बढेकोले नेपाललाई पनि दिन्छौं : यान्छी

काठमाडौं, असार २८ –
नेपाललाई उत्तरी छिमेकी चीनले कोरोनाभाइरसविरूद्धको खोप अझै दिने भएको छ । काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले सोमबार भिडिओ पत्रकार सम्मेलन गर्दै महामारी नियन्त्रणमा चीन सधैँ नेपालको साथमा रहेकाले आउने दिनमा नेपाललाई थप खोप दिने जानकारी दिएकी हुन् ।
‘अहिले नै नेपालले ४० लाख डोज खोप किनिरहेको छ। आउने दिनमा हामी अरू धेरै खोप नेपाललाई दिन्छौं,’ राजदूत यान्छीले भनिन्,‘चीनको खोप उत्पादन क्षमता दिनदिनै बढिरहेको छ। त्यहीअनुसार नेपाललाई पनि दिने खोप बढाउँछौं।’
चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो भने पछिल्लो समय नेपालले ४० लाख डोज चिनियाँ खोप किन्ने सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार ८ लाख डोज खोप नेपाल आइसकेको छ।
चीनबाट सरकारले खोप कतिमा किनेको हो भन्नेबारे अहिलेसम्म खुलाएको छैन। यसबारे सोधिएको प्रश्नमा राजदूत यान्छीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाल-चीन खोप सहकार्य भएको बताइकी छिन् । ‘विश्वका १ सय बढी मुलुकमा चीनले खोप दिएको छ र ती सबै मुलुकलाई यस्तै प्रक्रियाबाट खोप दिइएको छ,’ राजदूत यान्छीले भनिन्,‘अन्तर्राष्ट्रिय कानुनअनुसार खोप सहकार्य गरिएको हो। यसमा कुनै असामान्य कुरा भएको छैन।’


























