Breaking News
एमाले कार्यदलको वैठक बस्दै, शक्ति सन्तुलनबारे छलफल हुने

काठमाडौं, असार २६ –
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने नेताहरुले जानकारी दिएका हुन् ।
बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल हुँदैछ । एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलन आदि विषयमा छलफल हुने बताईएको छ ।
माधवकुमार नेपाल पक्षले २३ फागुनयता गरिएका सबै निर्णय खारेज हुनुपर्ने अडान राखेको छ । यसबीचमा अध्यक्ष ओलीले महाधिवेशनको मिति तोक्ने, महाधिवेशन तालिकासमेत सार्वजनिक गरिसकेका छन्, त्यसैले यो विषयमा अध्यक्ष केपी शर्मा ओली सहमत नभएको कार्यदलका एक नेताले बताएका छन् ।
त्यस्तै नेकपा एमालेमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापासहति २३ जनालाई अध्यक्ष ओलीले केन्द्रीय सदस्य मनोनीत गरे । एमाले र माओवादी केन्द्र एकीकरण हुँदा केन्द्रीय सदस्य मनोनीत भएकाहरुलाई पनि एमालेमा केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी भइरहँदा माधवकुमार नेपाल समूहले पनि शक्ति सन्तुलनका लागि आफूपक्षबाट पनि केन्द्रीय सदस्य मनोनीत हुनुपर्ने माग राखेका छन् । यो विषयमा कार्यदलमा लगभग सहमति छ ।
























