Breaking News
सर्वोच्च अदालतले माग्यो रुपा सुनारले दिएको रिटमा मन्त्री श्रेष्ठसँग लिखित जवाफ

काठमाडौं, असार २३
जातीय विभेदविरुद्ध सञ्चारकर्मी रूपा सुनारले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको छ ।
कोठा भाडा प्रकरणमा चर्चामा आएकी सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुबै पक्षलाई असार २८ गते बोलाएको छ ।
सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेका थिए । यस विषयमा मन्त्री श्रेष्ठविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी दिँदा लिन नमानेपछि रुपाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
यो मुद्दामा सर्वोच्च अदालतले मन्त्री श्रेष्ठसहितका विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ । त्यस्तै यो मुद्दालाई शीघ्र टुंगो लगाउनुपर्ने भन्दै अग्राधिकार दिन अदेश दिएको छ ।


























